समाज सुधारक राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द र उनको योगदान (१३६औं जन्मजयन्ती विशेष)


काठमाडौं, २५ कात्तिक । आज महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १३६औं जन्मजयन्ती मनाइँदै छ । फाल्गुनन्द लिङ्देन समाज सुधारकको रूपमा परिचित मानिन्छन् । लिङ्देन नेपालको पछिल्लो राष्ट्रिय विभूति समेत हुन् । फाल्गुनन्दको जन्मजयन्ती विशेषतः किरात (लिम्बु) धर्मावलम्बीहरूले मनाउँदै आएका छन् । किरांत धर्मावलम्बीका गुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै पांचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापा लगायत पूर्वी पहाडी जिल्लामा विभिन्न कार्यक्रम गरी हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती मनाउने गरिएको हो ।

किरात समुदायको माग अनुसार सरकारले २०६६ मंसिर १६ गते लिङ्देनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । महागुरु लिङ्देनको जन्मजयन्तीमा यस वर्ष कोरोना महामारीका कारणा सामान्य पूजा र भर्चुअल कार्यक्रममै सिमित हुने भएको छ । महागुरु लिङ्देनको जन्मजयन्तीको अवसरमा आज प्रदेश नं १ मा सार्वजनिक बिदा दिइएको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले सामाजिक सञ्जालमा जानकारी दिएको छ ।

किरात धर्मावलम्बीहरूको मुन्धुमलाई लिखित रूपमा ल्याउन सुरुआत गरेका फाल्गुनन्दको जन्म १९४२ साल कात्तिक २५ गते इलामस्थित माङ्सेबुङ गाउँपालिका-२ इभाङस्थित चुम्चिनाम्बामा भएको थियो । उनको समाज सुधारमा महत्त्वपूर्ण योगदान रहेको छ ।

लगभग ९ वर्ष ब्रिटिस गोर्खा सैनिकमा बिताएका फाल्गुनन्दले सैनिक जीवनबाट फर्किएपछि समाज सुधार र धार्मिक कार्यमा जीवन बिताएका थिए । उनको पहलमा पाँचथरको चोकमागुमा १९८८ सालमा गरिएको बृहत भेलाले ‘सत्यधर्म मुचुल्का’ नामक निर्णयमा छोरीचेलीलाई छोरा समान शिक्षा, अंश दिनुपर्ने, बलि प्रथा अन्त्य गर्नुपर्ने, आत्मनिर्भर बन्न स्वदेशी उत्पादनमा जोड दिइएको थियो ।उनले समाज सुधारको लागि गरेको कार्यको सम्मान गर्दै सरकारले राष्ट्रिय विभूतिको रूपमा सम्मान गरेको थियो । उनको २००५ साल चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन भएको हो ।

फाल्गुनन्दको उपदेश पालन गरे राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छः राष्ट्रपति भण्डारी
महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यका लागि शुभकामना व्यक्त गरिन् ।

राष्ट्रपतिले किरांत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिने उनको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सहिष्णुता सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास समेत व्यक्त गरेकी हुन् ।

प्रधानमन्त्रीबाट महागुरू फाल्गुनन्दप्रति सम्मान
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले फाल्गुनन्दको १३६ औं जन्मजयन्तीका अवसरमा सम्मान व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज ट्वीटमार्फत महागुरूप्रति उच्च सम्मान व्यक्त गरेका हृन् । उनले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा फाल्गुनन्दको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सद्भाव वृद्धि होस् भन्ने कामना गरेका छन् ।

उनको सन्देशमा भनिएको छ, “राष्ट्रिय विभूति, समाज सुधारक महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तिका अवसरमा उहाँप्रति उच्च सम्मान प्रकट गर्दछु । यस अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा उहाँको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सद्भाव वृद्धि होस् भन्ने कामना गर्दछु ।”

जसले समाज सुधारमा योग्दान गरे
महागुरु फाल्गुनन्दलाई बि.स. २०६६ साल मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरियो । किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिएको फाल्गुनन्दले किरात समुदायमा मासु र मदिरा खान नहुने, छोरीलाई समेत छोरासरह समान शिक्षा र अधिकार दिइनु पर्ने, जन्म, विवाह र मृत्यु संस्कार गर्दा मासुको साटो फलफूल प्रयोग गरिनु पर्ने, बिहे रीतको नाममा सम्पत्ति तथा दाम लिन नहुने, स्वदेशी कपडा प्रयोग गरिनु पर्ने, सिरिजङ्गा लिपी प्रचलनमा ल्याउनु पर्ने लगायतका सामाजिक सुधारको अभियान चलाएका थिए ।

नेपाल सरकारले विसं २०५० सालमा महागुरु फाल्गुनन्दको नाममा सम्मान स्वरुप रु १५ को हुलाक टिकट प्रकाशन गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक सरकारको नेतृत्वमा पुगेका बेला विसं २०७२ मा फाल्गुनन्द जन्मजयन्तीको अवसरमा किरात धर्मावलम्बीहरुका लागि सरकारी सार्वजनिक विदा दिने पनि निर्णय भएको थियो ।

आफ्नो गाँउ, ठाँउ, समुदाय तथा विशेष गरी किराँती लिम्बु समुदायमा सामाजिक बिसंगति, बिकृतीले गांजेको भयाबह स्थितिलाई देखेर फाल्गुनन्द लिङदेनले बिक्रम सम्बत १९८८ वैशाख २५ गते तत्कालिन ‘दश लिम्बुवान सत्रथुम’का समाजका बरिष्ठ ब्याक्तित्वहरूलाई बोलाएर पाँचथर जिल्लाको फिदिम नजीक लेब्रे कुटीमा हामी आफ्नो वास्तबिक धर्मबाट अञ्जान रहेको भन्दै विभिन्न सकारत्कम सन्देश प्रावह शुरु गरेका थिए । जांड, रक्सी धेरै सेवन गरेर हामी मतिभ्रष्ट भएको, थेग्नै नसकिने गरी बिबाह भोज गरी आर्थिक रूपमा दलदलमा फसिएको आदित्यादीले हामी समाजबाट हर क्षेत्रमा माथी उठनै नसकिने गरि पछि परेको भन्दै उनले यी सबै बिंसगती, बिकृती र कुरितीहरूबाट मुक्त हुनुपर्ने अभियान चलाएका थिए ।

आफ्नो मौलिकतालाई बिर्सिएर पथ भ्रष्ट हुन हुदैन भन्ने सन्देश दिँदै मौलिक्ताको पहिचान गराउन शुरुवात गरेका थिए । उनले १० बुंदे लिखित मुचुल्का जसलाई ‘सत्य धर्ममुचुल्का’ पनि भनिन्छ उक्त धर्ममुचुल्का बनाएको थियो । र करीब हजारौका संख्यामा उपस्थितहरूले आ–आफ्नो थुममा गएर आफ्नो मौलिक धर्म, संस्कृति तथा दश बुदे मुचुल्काको प्रचार प्रसार गर्ने बचन समाजमा गराएका थिए । फाल्गुनन्दले किरात साम्जिक मुन्धुम शास्त्रको प्रतिपादन, धर्म, भाषा, साहित्यको प्रचार प्रसार, बलिपूजाको अत्यगरी शुद्ध फलफुलबाट सेवा आरधनाको प्रारम्भ, हराउन लागेको धर्म, संस्कृतिको पुनरउत्थान जस्ता महान कार्यहरु गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board