तीन वर्षमै फल्यो किबी, किसान उत्साहित

बलेवा, २१ कात्तिक । गाउँपालिकाले परीक्षणका लागि दिएका किबीका बिरुवा लटरम्म फलेपछि जिल्लाको ताराखोलाका किसान उत्साहित भएका छन् । बिरुवा लगाएको तीन वर्षमै किबीले राम्रो उत्पादन दिएपछि किसान उत्साहित भएका हुन् ।

ताराखोला गाउँपालिका–३ का नीरज बगालेले किबीको खेती थालेको वर्षौँ भयो । गाउँ विकास समिति हुने बेला हिलको अनुदानमा बिरुवा ल्याएर लगाउनुभएका बगालेले अहिले वर्षमा ४०० किलोसम्म किबी फलाउँछन् । पैँतीस वटा बिरुवाले दिने आम्दानीले उनलाई सधैँ उत्साहित बनाउँछ । गाउँकै अगुवा किसान भएकाले उनले लगाएको किबी हेर्न र सिको गर्न आउने धेरै थिए । गाउँपालिका गठनपछि आर्थिक वर्ष २०७४/०७४ को बजेटमा गाउँपालिकाले किबीका बिरुवा किनेर बगालेको जस्तै बगान सबै वडामा बनाउने योजना बनायो ।

परीक्षणका लागि हरेक वडामा १०० वटाका दरले किसानलाई बिरुवा बाँडियो । तीन वर्ष पहिले बाँडिएका बिरुवाले उत्पादन दिएपछि दङ्ग परेको वडा नं ३ को कृषि सञ्जालका अध्यक्षसमेत रहेका किसान कर्ण भण्डारीले बताए, “बगाले सरले धेरै पहिलादेखि बराह खोला र पँधेराखोलामा खेती गर्दै आउनुभएको छ, राम्रो उत्पादन हुन्छ, त्यही देखेर हामीले पनि परीक्षण गर्ने योजना बनायौँ”, भण्डारीले भने, “कम लगानीमा राम्रो प्रतिफल पाउने देखियो ।” बगालेले अहिलेसम्म उत्पादन गरेको किबी गाउँमै बिक्री हुन्छ ।

उहाँको गाउँमा मात्रै झण्डै १५० किसानले धेरथोर किबीका बिरुवा लगाएका छन् । गाउँमा उत्पादित किबी गाउँमै खपत हुने गरेको सुनाए । “अहिलेसम्म बजारको समस्या छैन, प्रतिकिलो रु ३५० मा बेचिरहेको छु”, बगाले भन्छन्, “बजारको राम्रो प्रबन्ध भए उत्पादन बढाउन सकिन्छ ।” पाँच वडा रहेको गाउँपालिकाका हरेक वडामा यस वर्ष किबी फलेको छ ।

कसैले परीक्षणका लागि मात्रै लगाएको किबीले दिएको उत्पादनले व्यावसायिक उत्पादनतर्फ उत्साहित बनाएको छ भने कसैले व्यावसायिकरुपमै उत्पादन थालेका छन् । “बराखोला, धाराखोला क्षेत्रलाई किबी पकेट बनाउने योजना छ”, भण्डारीले भने, “परम्परागत उत्पादनभन्दा हाम्रो माटोमा किबीले फाइदा हुन्छ ।” खाद्यान्न बाली उत्पादनभन्दा किबी उत्पादनबाट राम्रो आम्दानी हुने देखेपछि धान, मकै, गहुँ, आलुलगायतका खाद्यान्न तथा दलहन उत्पादनभन्दा किबीमा जोड दिने योजना रहेको उनले सुनाए । विश्व बजारमा किबीको माग अत्यधिक भएकाले ताराखोलाका किसानको आकर्षण बढ्दै गएको उनले बताए ।

किबीको एउटा बोटबाट १०० केजीभन्दा बढी उत्पादन हुने र बजारमा प्रतिकेजी रु ४०० देखि ५०० सम्ममा बिक्री हुने गरेको छ । गाउँमा भने मूल्य केही कम छ । किसानको आकर्षणलाई हेरेर गाउँपालिकाले किबी प्रवद्र्धनको योजना बनाउने अध्यक्ष प्रकाश घर्ती बताउँछन् । अन्य अन्नबालीको तुलनामा आम्दानी बढी हुने र बजारीकरणका लागि पनि सजिलो हुने भएपछि किबी खेतीतर्फ आकर्षित बनेको कृषक बताउँछन् । किबी फल्नका लागि झाँगिने भएकाले किसानलाई थाँक्राको भने समस्या हुने गरेको छ । “बिरुवा वर्षौँ रहन्छ तर थाँक्रा कुहिन्छ”, किसान बगाले भनछन्, “मल पानीको त्यति धेरै समस्या छैन, बजारको ‘ग्यारेन्टी’ भए अरु बाली छोडेर उत्पादनमा लाग्न सकिन्छ ।” उच्च पहाडी भूभाग, ओसिलो जमिनमा राम्रो फल्ने भएकाले ताराखोलामा किबीको राम्रो सम्भावना रहेको वडा नं ३ का अध्यक्ष दिलबहादुर बस्नेतले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति