प्रधानमन्त्री र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता

काठमाडौं, २१ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले भेट गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शुक्रबार प्रधानमन्त्री ओली र सेनाध्यक्ष नरवणेबीच भेट भएको हो।

दुई जनाबीच शिष्टाचार भेट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उक्त भेटवार्तामा नरवणेसँगै नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सहभागी छन् । तीन दिने नेपाल भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष नरवणेले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरे । उनले दुई देशबीच शदिऔंँ पुरानो विशिष्ट सम्बन्ध रहेको जनाउँदै एकार्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सेनाध्यक्ष नरवणे बुधबार नेपाल आइपुगेका हुन्। नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न उनी नेपाल आएका हुन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी दिएकी थिइन्। उनी आजै स्वदेश फर्कने कार्यक्रम छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति