काठमाडौँ, २० कात्तिक । भारत सरकारले नेपाली सेनालाई दुई घुम्ती अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएको छ । नेपाल भ्रमणमा रहेका भारतका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा ती स्वास्थ्य सामग्री प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरे ।
नेपाल–भारत सुरक्षा सहयोग आदानप्रदानसम्बन्धी तेह्रौँ बैठकमा भएको सहमतिअनुरुप नेपाली सेनालाई ती स्वास्थ्य सामग्री प्राप्त भएको हो । हस्तान्तरण गरिएका सामग्रीमा घुम्ती अस्पतालका सञ्चालनका लागि आवश्यक चार ठूला एम्बुलेन्स, चार आइसियु भेन्टिलेटर, एक्सरे मेशिन, कम्युटर रेडियोग्राफ्री प्रणाली, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेयिया मेशिन र प्रयोगशालासम्बन्धी उपकरण रहेको बताइएको छ ।
भारतीय सेनालाई बुद्धको प्रतिमा र मास्क
सो अवसरमा नेपाली सेनाले नेपालमा निर्मित कोभिड–१९ जोखिम नियन्त्रणका लागि प्रयोग हुने एक लाख थान मास्क भारतीय सैनिकलाई सहयोगस्वरुप उपलब्ध गराएको छ । उक्त मास्क प्रधानसेनापति थापाले भारतीय सेनाध्यक्ष नरवणेलाई हस्तान्तरण गरे ।
प्रधानसेनापति थापाले भारतीय सेनाध्यक्ष नरवणेलाई समारोहमा उपहारस्वरुप शान्तिका प्रतीक गौतमबुद्धको प्रतिमासमेत प्रदान गरे । यसअघि स्थलसेनाध्यक्ष नरवणेले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहारसहित श्रद्धाञ्जलि अर्पण गर्नाका साथै जङ्गीअड्डा परिसरमा ओखरको बिरुवा रोपे ।
त्यसलगत्तै प्रधानसेनापति थापा र स्थलसेनाध्यक्ष जनरल नरवणेबीच औपचारिक भेटवार्ता भएको थियो । उक्त भेटमा दुवै सेनापतिबीच आपसी हित र पारस्परिक सम्बन्धका विविध पक्षमा छलफल भएको सेनाले जनाएको छ । उक्त छलफलपछि भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा प्रस्तुतीकरण गरिएको थियो ।
नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुुरुप उहाँ नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आउनुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सेनापति नरवणेलाई आजै सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति छन् ।
बुधबार तीनदिने नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे बिहीबारदेखि औपचारिक कार्यक्रममा सहभागी भएका छन् । प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नरवणे हिजो नेपाल आएका थिए ।
बुधबार भने उनी ऐतिहासिक तथा धार्मिक स्थलको अवलोकन भ्रमणमा सक्रिय भएका थिए । नरवणे बिहीबार जङ्गी अड्डामा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागी भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सो क्रममा बिहान सैनिक मञ्चको वीर स्मारकमा पुष्पगुच्छा चढाई वीर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका जनरल नरवणेले जङ्गी अड्डामा सम्मान गारदको निरीक्षण गरेका थिए । उक्त अवसरमा उनले यसभन्दा अघि भ्रमणमा आएका अन्य विशिष्ट सैनिक पाहुनाहरु सरह जङ्गी अड्डा प्राङ्गणमा ओखरको बिरुवा रोपेका थिए ।
नरवणेलाई गार्डअफ अनर
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई आज सैनिक मुख्यालय भद्रकालीमा गार्ड अफ अनर प्रदान गरिएको छ। सेनाध्यक्ष नरवणेलाई सैनिक मुख्यालयमा गार्ड अफ अनर प्रदान गरिएको हो। नरवणेले त्यसलगत्तै सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण गरे। त्यसपछि सैनिक मुख्यालय जङ्गी अड्डामा उनले सैनिक गारत निरीक्षण गरे। आज नै प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थल सेनाध्यक्ष नरावणेसँग औपचारिक भेटवार्ता गर्नेछन्।
सन् १९५० मा पहिलो पटक सुरु भएको मानार्थ महारथीको दर्जा दिने परम्पराले ७० वर्षसम्म पनि निरन्तरता पाइरहेको छ। सन् १९५० मा स्वतन्त्र भारतका जनरल केएम करियप्पालाई पहिलोपटक नेपालमा मानार्थ महारथी पदवी प्रदान गरिएको थियो। नेपाली सेनाका तर्फबाट भने त्यसको ठिक १९ वर्षपछि अर्थात सन् १९६९ मा सुरेन्द्रबहादुर शाहले भारतीय सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गरेका थिए।
यसले नेपाल–भारतबीच कैयौंपटक तिक्ततापूर्ण अवस्था आउँदा दुई देशको सैन्य सम्बन्धले पूलको काम गरेको छ। हालसम्म १७ जना भारतीय सेनाध्यक्षले नेपाली सेनाको मानार्थ महारथीको पदवी ग्रहण गरिसकेका छन्। र १८औं मानार्थ महारथीको पदवी बिहीबार नरवणेले पाउँदैछन्। नेपालका तर्फबाट अहिलेसम्म १४ जनाले भारतीय सेनाको मानार्थ महारथी पाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय स्थल सेनाध्यक्ष नरवणेले शुक्रबार औपचारिक भेट गर्ने कार्यक्रम छ ।
यो पनि पढ्नुहोस्…
COMMENTS