सप्तकोशी पुलः आन्तरिक पर्यटन र आयआर्जनको माध्यम, कृषि उपजको प्रमुख बजार

धरान, १९ कात्तिक । पूर्वी नेपालसँगको सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको चतरास्थित सप्तकोशीमा आधुनिक पुल निर्माण भएपछि पूर्वी पहाडी जिल्ला तथा आसपासका स्थानीयवासीलाई यातयातमा सहज त भएकै छ, यो आन्तरिक पर्यटकहरुको गन्तव्य पनि बन्न थालेको छ ।

सप्तकोसी नदीमा पुल निर्माण भएपछि यहाँ आन्तरिक पर्यटकहरु बढेका हुन् । कोशी पुल हेर्नकै लागि धरान, विराटनगर, इटहरीलगायत स्थानबाट पर्यटकहरु आउने गरेका छन् । आन्तरिक पर्यटकको चहलपहल बढेपछि कोशी पुलको पारी बेलका नगरपालिका–७ मा स्तरीय होटलसमेत सञ्चालनमा आएका छन् ।

स्थानीय शरद कोइरालाका अनुसार हाल यहाँ आधा दर्जन होटलले सेवा दिइरहेका छन् । दैनिक करिब ५०/६० जना पर्यटक पुलसम्म आएर फर्किन्छन् र यो क्रम प्रतिदिन बढ्दै गएको उनले बताए ।

आफ्नो काममा पूर्व पश्चिम हिँड्नेहरु पनि पुल वारिपारी सवारी रोकेर तस्बीर खिच्ने र एकैछिन् मनोरञ्जान लिने गर्छन् भने केहीले पुललाई गन्तव्यका रुपमा सवारी रोकेर खाना, खाजा खाने गरेका उनले बताए । कोरोना महामारीका कारण सुनसान रहेको कोशी पुल यसपालीको दशैँमा भने भरिभराउ भएको छ । सुनसरी र उदयपुर जिल्लालाई जोड्ने चतराको कोशी पुलमा दशैँको नवमीदेखि फोटो खिच्ने र घुम्ने मानिसको भीड लागेको स्थानीयवासी कालुराम राईले बताए ।

पूर्व–पश्चिम यात्रा गर्नेदेखि लिएर कोशी पुल घुम्नैका लागि आउने मान्छेको जमात बढेको उनले बताए । टीकाको दिन पुलमा साथीभाइ, परिवारसँग घुम्न जानेहरु थुप्रै थिए । कोशी पुलमा सेल्फी खिच्नेहरु, पुलमा उभिएर गफिनेहरु र कोशी नदीलाई नियाल्नेहरुको सङ्ख्या उल्लेख्य रहेको थियो । ‘‘टीकाको दिनदेखि पूर्णिमासम्म नै यहाँ पुलभरि मान्छेको भिड लागेको थियो । यहाँ आएर मानिसले भौतिक दूरी नै विर्सिएका छन् ।’’– बेलका नगरपालिका–४ का शरद कोइरालाले भन्नुभयो–‘‘प्राकृतिक दृश्यालोकन गर्न र कोशी नदीमा सञ्चालित जेटबोट चलेको हेर्नेको निकै ठूलो भिड लाग्यो ।’’ उक्त पुल पाँच वर्षअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गरेका थिए ।

एशियाली विकास बैंकको सहयोगमा यो पुल बनेको हो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले सन् २०१५ अगस्त ३ मा यसको उद्घाटन गरेका थिए । उदयपुरको मैनामैनी र सुनसरीको बराहक्षेत्र जोड्ने यो पुल सञ्चालनमा आएसँगै हेटौँडाबाट पूर्व क्षेत्रमा जाने वैकल्पिक बाटो पनि खुलेको छ । पुल सञ्चालन भएपछि धरान, चतरा, गाईघाट, कटारी, सिन्धुली तथा हेटौँडा सहजै रुपमा जोडिएका छन् ।

यो पुलले मध्यपहाडी राजमार्गलाई पनि जोड्न सहयोग गर्छ । हेटौंँडाबाट धरान जोड्ने छोटो बाटो पनि खुलेको छ । हाल यो सडक मदन भण्डारी पूर्व–पश्चिम राजमार्गको रुपमा स्थापित भएको छ । पूर्वबाट राजधानीलगायतका पश्चिम नेपालको यात्रा प्रायः यही बाटो हुँदै मानिसहरु तय गर्दै आएका छन् ।

पुल नहुँदाको पीडा
पुल नबन्दा उदयपुर सुनसरी वारिपारी गर्न बाँसको नाउ बनाएर यहाँका स्थानीयवासीले जोखिमपूर्ण यात्रा गर्दै आएका थिए । रामपुरबाट धरानको दूरी २२ किमी छ । तर उक्त दूरीको शहरमा किनमेल तथा स्वास्थ्य उपचारका लागि आउन रामपुर, फत्तेपुर, कञ्चनपुर, इटहरी हुँदै करिब १४० किमी दूरी पार गरेर यात्रा गर्नुपर्ने बाध्यता थियो । हाल पुल बनेपछि त्यो बाध्यता हटेको छ । पुल बनेपछि स्थानीयवासीहरु एकै छिनमा धरान, विराटनगर पुगेर फर्कने गर्छन् ।

स्तरीय प्रविधिबाट बनेको पुल
करिब रु ७६ करोड ११ लाखको लागतमा यो पुल निर्माण सम्मन्न भएको थियो । यो रकममध्ये एशियाली विकास बैंकको ६० प्रतिशत अनुदान र नेपाल सरकारको बाँकी ४० प्रतिशत लगानी रहेको छ । कालिका कन्स्ट्रक्सन् प्रालिले यो पुलको निर्माण गरेको हो ।

दुई सय ६१ दशमलव ३ मिटर लामो यो पुलमा तीन वटा पिलर त्यसमाथि फ्लस राखेर माथिल्लो भागमा पिच गरेर बनाइएको छ । यो उच्च प्रविधिको भएको निर्माण कम्पनीले दाबी गरेको छ । यस्तो प्रविधि कर्लाणी पुल र कोशी पुलमा मात्र प्रयोग भएको उक्त निर्माण कम्पनीले जनाएको छ ।

सन् २००८ मा सप्तकोशी नदीमा आएको बाढीले सप्तकोशी ब्यारेजमा असर गरेपछि त्यसको विकल्पको रुपमा एडिबीको सहयोगमा सरकारले यो पुल निर्माण थालेको थियो । सन् २०११ नोभेम्बर १४ बाट शुरु भएको पुलको निर्माण पाँच वर्षमा सम्पन्न भएको थियो । कालिका कन्स्ट्रक्सनका निर्देशक पदम गुरुङले संसारकैस्तरीय प्रविधि ल्याएर पुल निर्माण गरिएको बताए । पुलको सम्भाव्यता अध्ययन झण्डै १३ वर्ष अगाडि गरिएको थियो ।

कालिका कन्स्ट्रक्स प्रालिका निर्देशक पदम गुरुङका अनुसार कोशी पुल निर्माण भौगोलिक हिसाबले कठिन थियो । पानीमाथि तीनओटा पिलर निर्माणका लागि पायल फाण्डेशन भएको ८ मिटर चौडाइ र २६२ मिटर लम्बाइको पुल निर्माणका लागि पिलर नै पानी मुनि २० मिटर खनिएको छ । पानीमुनि खन्न क्यानाडाबाट डब्बल रोटरी मेसिन डिआर४० कम्पनीले ल्याएको थियो ।

उक्त मेसिनले आफै खन्ने र खनेका स्थानमा पाइप पनि आफैँ लगाउछ । जसका कारण खनेका स्थानमा पानी पर्न पाउँदैन । रु २० करोडमा कम्पनीले सो मेसिन ल्याएको र कोशी नदीको उक्त पुल बनाउन प्रयोग भएपछि अन्य कुनै काममा पनि सो मेसिन प्रयोगमा नआएको पनि निर्देशक गुरुङले बताए ।

पूर्व–पश्चिम जोड्ने वैकल्पिक पुल
भारतले सप्तकोशीमा ब्यारेज बनाएको छ । उक्त ब्यारेजको अवधि ५० वर्षको थियो । आयु सकिएको पाँच वर्ष वितिसकेको छ । उक्त पुल कुनै पनि बेला भत्कन सक्ने सम्भावना भएकाले नेपालको पूर्व र पश्चिम जोड्न यही पुल विकल्प हो ।

हाल सुनसरीको पकलीस्थित कान्छीचोक, नहडा, चतरा, कोशी पुल, उदयपुरको रामपुर, सप्तरीको फत्तेपुर, कञ्चनपुर निस्किने ५१ किमी अर्को सडक निर्माण भइसकेको छ । यस सडकलाई गाईघाट जोड्ने काम पनि सम्पन्न भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत चार लेनको सडक उदयपुरको बेलटार, भिमा हँुदै गाईघाटसम्म सडक निर्माण भइसकेको छ । केही स्थानका खोलामा पुल निर्माण हुन मात्र बाँकी रहेको छ ।

पुल निर्माण अघि सुख्खा रहेका उक्त क्षेत्रमा आर्थिक चहलपहल समेत बढेको छ । प्रति बिघाको रु एक लाख पर्ने जग्गा हाल रोपनीको रु पाँच लाखसम्ममा बिक्री भइरहेको स्थानीयवासी रमेश राईले बताए । उनले यहाँ ब्यापार व्यवसाय पनि फष्टाएको तर यति बेला भने कोरोना महामारीका कारण आर्थिक मन्दि रहेको बताए ।

उत्पादन शहरसम्म पु¥याउन सहज
पूर्वी पहाडी जिल्लाका कृषि उपजको प्रमुख बजार धरान हो । त्यहीँबाट व्यापारीले ती उत्पादन इटहरी, विराटनगर, काँकडभिट्टा हुँदै भारतका विभिन्न शहरमा बेच्ने गरेका छन् । नगन्य मात्रामा ताजा सागसब्जी भारत निर्यात हुने गरेको छ । उदयपुर, खोटाङ, भोजपुरका उत्पादन धरान लान हाल सजिलो भएको चतराका व्यापारीे बताउछन् ।

पुल सञ्चालन भएपछि उदयपुरका बेल्टार बसाहलगायत स्थानबाट मात्र आफ्ना उत्पादन सहज रुपमा बेच्न पाएका छन् । ‘‘पुल निर्माणले उदयपुरको पूर्वी भेगको चौदण्डी र बेलका नगरपालिकाका स्थानीयवासीलाई ठूलो राहत मिलेको छ’’–स्थानीयवासी दीपेन्द्र राईले भने ।

अर्को आकर्षण जेट बोट
बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालिले सुनसरीको बराहक्षेत्र–१ चतराबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गम सिम्लेसम्म जेट बोट सञ्चालन गर्दै आएको छ । यसले शुरु गरेको चतरामा हाल चार ओटा कम्पनीले सात ओटा सानो ठूलो बोट सञ्चालन गर्दै आएका छन् ।

वरुण वाटरवेज, बराहक्षेत्र मरिन एण्ड रिसोर्ट र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि गरी चार कम्पनीले साना ठूला गरेर सात ओटा जेट बोटबाट कोशी पुलदेखि बराहक्षेत्र हँुदै भोजपुर, धनकुटाको त्रिवेणीघाट र सिम्लेसम्म सेवा दिँदै आएका हुन् । अठार जनादेखि ६० जनासम्म अट्ने बोट सप्तकोशीमा सञ्चालन हुँदै आएका छन् । उक्त बोट चढ्न पनि कोशीपुलमा आन्तरिक पर्यटक पुग्ने गर्छन् ।

धरानबाट २५ मिनेटमा पुगिने चतराबाट १० किलोमिटर हाराहारीको सिम्ले पुग्न पाँच मिनेट लाग्छ । सिम्लेबाट भोजपुरको घोडेटार क्षेत्र एक घण्टामा पुगिन्छ । सडक यात्रा गर्दा भने घोडेटार पुग्न दिनभरी नै समय खर्चनुपर्ने हुन्छ । सिम्लेबाट धनकुटा सदरमुकाम हुँदै भेडेटार हुँदै आउँदा सात घण्टा लाग्नेमा अब जेट बोटबाट चतरा आएर सिधैँ दुई घण्टामा यात्रा गर्न सकिन्छ ।

सप्तकोशी नदी हुँदै जल यातायात गर्न बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालिले नयाँ वर्ष २०७५ बाट व्यावसायिक रूपमा ३० सिटे जेट बोट सञ्चालनमा ल्याएको हो । यसले उदयपुर, भोजपुर र खोटाङको सिमाना रानीटारसम्म बोट सञ्चालनका लागि सरकारबाट अनुमति पाएको छ । रानीटारसम्म पुग्न चतरा, रामपुर, बसाहा, चौदण्डीगढी हुँदै रानीटार पुग्न सडक यातायातबाट छ घण्टा लाग्छ । भोजपुर सदरमुकामबाट रानीटारसम्म झर्न नौ घण्टा समय लाग्छ । चतराबाट बोटबाट ३० मिनेटमै पुग्न सकिने बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालिका सञ्चालक विमलमान श्रेष्ठले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2020 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board