प्रचण्डको निर्देशनपछि रोकियो कर्णालीको मन्त्रिपरिषद् पुनर्गठन

काठमाडौं, १६ कात्तिक । कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन रोकिएको छ । आजै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनगर्ठनको तयारी गरेका थिए । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्न भनेपछि रोकिएको श्रोतको भनाई छ ।

मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीसहित प्रधानमन्त्री केपी शर्मा ओली निकट दुई मन्त्रीलाई राजीनामा दिन हिजो साँझ नै आग्रह गरेका थिए । तर, प्रधानमन्त्री ओली निकट मन्त्रीहरु दल रावल र नन्दसिंह बुढाले राजीनामा नदिने, बरु हटाए हट्ने अडान लिएपछि मन्त्रिपरिषद् पुनर्गठनको तयारी स्थगित भएको हो ।

नेता नेपाल पक्षका सात सांसद अविश्वासको प्रस्तावबाट पछि हटेपछि मुख्यमन्त्री शाहीले तीन जनालाई मन्त्री र एक जनालाई सचेतक बनाउने सहमति गरेका छन् । सोही सहमतिअनुसार, कुर्मराज शाही सचेतक नियुक्त भइसकेका छन् ।

ओली निकट यमलाल कँडेलको नेतृत्वमा नेकपाकै १८ सांसदले हस्ताक्षर गरी तयार भएको अविश्वासको प्रस्ताव अगाडि बढाउने गुलाबजंग शाहलाई प्रमुख सचेतकबाट बर्खास्त गर्दै मुख्यमन्त्री शाहीले सीता नेपालीलाई प्रमुख सचेतक नियुक्ति गरिसकेका छन् । ओली-प्रचण्डले थप निर्णय नलिन निर्देशन दिएपछि मुख्यमन्त्री शाही आफूले गरेको सहमति कार्यान्वयन गर्नबाट रोकिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति