गाउँका बाटा बनाउँदै युवा

टीकापुर, ९ कात्तिक । विगत वर्षमा नाचगान र रमाइलोमा व्यस्त रहने टीकापुर, वनगाउँका युवा यस वर्ष गाउँका बाटा मर्मतमा जुटेका छन् । कोरोना भाइरस संक्रमणको जोखिमका कारण प्रशासनले भीडभाड नगर्न, नाचगान जस्ता कार्यमा सहभागी नहुन निर्देशन दिएपछि युवा गाउँमा बिग्रिएका सडक मर्मत, सडक बत्ती जडानजस्ता कार्यमा संलग्न छन् ।

यस वर्ष सामाजिक काम गरेर दशैँ मनाउने निर्णय गरी गाउँ उज्यालो बनाउने अभियान थालिएको प्रगतिशील युवा क्लबका अध्यक्ष सुस्मिता चौधरीले बताए । ‘‘विगत वर्षमा दशैँका बेला हाम्रो गाउँघरमा नाटक, नाचगानले रमाइलो गरिन्थ्यो । गाउँ निकै रमाइलो हुन्थ्यो’’, सुस्मिता भन्छिन्, ‘‘यस वर्ष कोरोनाका कारण नाचगान कार्य गर्नमा बन्देज लगाइएको छ । त्यसैले गाउँघरका युवा नाचगानभन्दा सामाजिक सेवामा लागेका हौंँ ।’’

वनगाउँलाई महिना दिनसम्म नाटक र सखिया नाचले रोमाञ्चक बनाउँथ्यो तर यस वर्ष युवाहरु दिनभरि सडकमा काम गरिरहेका देखिन्छन् । ‘‘टीकापुर वनगाउँ बीचपूवाका युवा सबै सामाजिक दूरी कायम गरेर सडकमा काम गरिरहेका छौँ’’, वनगाउँका सञ्जीव चौधरीले भने, ‘‘यस वर्ष दशैँमा गाउँलाई उज्यालो बनाउन सडक बत्ती जडान र सरसफाइ भइरहेको छ ।’’

सामाजिक दूरी कायम गरी चाडबाडमा फुर्सदिला युवा मिलेर गाउँ विकासका कार्यमा जुटेको चौधरी बताउँछन् । ‘‘नाचगान नगरिकन गाउँसमाजमा केही गरौँ भनेपछि सबै जुटे, हामीले गरेको काम देखेर अभिभावक पनि खुशी भएका छन्’’, उनी भन्छन्, ‘‘दशैँमा गाउँघरलाई उज्यालोमय बनाउनका लागि क्लब तथा गाउँ समाजले आर्थिक सहयोगसमेत जुटाएका छन् ।’’

सडक बत्ती जडान गर्न प्रतिघर रु एक सयका दरले ८० घरपरिवारबाट रकम संकलन गरी काम गरिरहेको वनगाउँ बडघर पहारुलाल चौधरीले बताए । ‘‘मिलेर गर्दा रकम पनि धेरै खर्च हुँदैन, गाउँ पनि उज्यालो हुने भएको छ’’, बडघर चौधरी भन्नुहुन्छ, ‘‘युवाले हरेक कार्यको विकल्प खोज्नुपर्छ, रमाइलो गर्न पाएनौँ भनी जाँडरक्सी, जुवातास खेलेर समाजमा अशान्ति गर्नुभन्दा गाउँ उज्यालो बनाउँदा सबै खुशी भएका छन् ।’’

अहिले वनगाउँमा खाल्डाखुल्डी रहेका बाटा पुरिएको, सडक किनारमा रहेका झारपात सरसफाइ गरिएका् र सडक बत्तीले गाउँ उज्यालो भएका छन् । ‘‘आफ्नो ठाउँको विकास आफैँ गरौँ भनी युवा जाग्नु सकारात्मक पक्ष हो’’, टीकापुर नगरपालिका कार्यपालिका सदस्य सीता चौधरीले भने, ‘‘युवाका यस्ता खाले सामाजिक कार्यमा स्थानीय सरकार सहयोगी बन्छ । हामी सामाजिक काम गर्ने युवालाई आवश्यक सहयोग गर्न तयार छौँ ।’’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board