दरवाङका युवा गाउँमै कमाएर रमाउँदै

म्याग्दी, ९ कात्तिक । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका युवाहरु सीप सिकेर विकास र आयआर्जनका काममा जोडिएका छन् । विदेशबाट फर्किएका र बेरोजगार युवाहरु सङ्गठित भएर सामूहिकरूपमा स्वरोजगार बनेका हुन् ।

आत्मनिर्भर युवा स्वरोजगार समूहमार्फत विकास आयोजनाका लागि फर्निचर, ग्रिल, मिक्सर उद्योग सञ्चालनका साथै कुखुरा र भैँसीपालनको तयारी गरेका दरवाङका वडा अध्यक्ष सन्तोष सुबेदीले बताए । “१८ युवा अहिले सामूहिक उद्यम सञ्चालनका लागि सीप सिकिरहेका छन्”, उनले भने, “उत्पादन र आयआर्जनमा जोड्न बेरोजगार युवाहरुलाई समूहमा आबद्ध गराएर विकासका काममा परिचालन गर्न लागिएको छ ।”

नदी, पहिरो नियन्त्रण र सडक निर्माणमा आवश्यक पर्ने ग्यावीन जाली बुन्ने, ढलानमा प्रयोग हुने मिक्सर मेसिन चलाउन, ग्रिल र फर्निचरसम्बन्धी काम सिकेका छन् । स्थानीय आत्मनिर्भर व्यावसायिक कृषि सहकारी संस्थाबाट प्रतिव्यक्ति रु २० हजारका दरले व्यक्तिगत ऋण लिएका उनीहरुले आवश्यक औजार खरिद गरेर सामूहिक उद्योग सञ्चालन गरेका छन् ।

स्थानीयस्तरमा आवश्यक पर्ने मजदुर पनि समूहमार्फत नै परिचालन गर्न थालेको आत्मनिर्भर युवा स्वरोजगार समूहका संयोजक गङ्गा रोकाले बताए । “कोरोनाका कारण यहाँका आयोजनामा बाहिरका मजदुर आउन नसक्दा काम प्रभावित भएको छ”, उनले भने, “यहीँका युवाले सीप सिकेर दक्ष भए काम र दाम दुवै हुन्छ ।”

टोलटोलमा समूह विस्तार गर्न थालेका उनीहरुले मासु र अण्डा उत्पादन गर्न कुखुरा तथा दूध उत्पादनका लागि भैँसीपालन शुरु गर्न लागेका छन् । विदेश र शहरी क्षेत्रबाट फर्किएका तथा गाउँमै भएका युवाहरुलाई समेटेर समूह बनाइएको छ ।

समूहमा आबद्ध भएपछि रुचिअनुसारको सीप सिकाउने र काममा लगाउन सहजीकरण गरेका छन् । कोरोनाको जोखिमका कारण विदेश र शहरी क्षेत्रबाट रोजगारी गुमेर फर्कनुपरेको अवस्थामा गाउँमै काम र दाम पाउने वातावरण बनेकोमा समूहका सदस्य कुमार केसीले उत्साहित भएको बताए । “विदेशबाट फर्किएपछि त्यतिकै घरमै बसेको थिएँ”, उनले भने, “सामूहिकरूपमा काम गर्दा सीप र अनुभव आदानप्रदान गर्न पाइएको छ । हातमा सीप र मनमा जाँगर पलायो भने काम जति पनि पाइँदो रहेछ ।”

मालिका गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘मालिकामै कमाओँ, मालिकामै रमाऔँ’ भन्ने नारा सार्वजनिक गरेको छ तर नीतिअनुसारको बजेट विनियोजन र कार्यक्रम नबनाएकोमा युवाहरुले गुनासो गरेका छन् । स्थानीयलाई नै सीप सिकाएर विभिन्न आयोजनामा परिचालन गर्दा विकाससँगै रोजगारी, आयआर्जनको अवसर सिर्जना, सामाजिक विकृति र विसङ्गति न्यूनीकरणमा सहयोग देखिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board