यो बर्षको दशैंँ आयो, रौनक आएन !

ओखलढुङ्गा, ९ कात्तिक । घटस्थापनामा राखिएका जमरा हुर्किसकेका छन् । घमाइलो दिन, खेतमा झुलेका धानका बाला, खुलेको नीलो आकाश अनि उडेका चङ्गाले दशैंँको स्वागत गरिरहेका छन् । शरद ऋतुको यस मौसमले दशैंँलाई स्वागत गरे पनि आमनागरिकलेल मनैदेखि दशैँ भित्र्याउन सकिरहेका छैनन् ।

विगत वर्षमा लिंगे र रोटे पिङको मच्चाइ, मेला, जात्रा र शक्तिपीठमा हुने भीडले दशैंँ स्वागत गरिरहेको हुुन्थ्यो । लामो समय बेखबर बनेकाहरु घर फर्किन्थे । वर्ष दिनसम्म नभेटिएकाहरु भेटिन्थे । बसाइँ सरेर गएकाहरु दशैंँको मौका पारेर गाउँ फर्किन्थे, एकार्कामा खुशी साटासाट गर्थे । पर्यटकीयस्थल भरिभराउ हुन्थे । बजारका पसलमा किनमेल गर्नेको भीड हुन्थ्यो । दशैंँमा एकार्काको घरमा जाने, मिष्ठान्न परिकार खाने चलन हुन्थ्यो । यस वर्ष त्यस्तो केही छैन । ‘अरु वर्ष दशैँ खुुब रमाइलो हुुन्थ्यो । यस वर्ष त कोरोनाका कारण जताततै सुनसान छ । क्यालेण्डरमा बाहेक दशैंँ कतै आएको जस्तो देखिएन । मनमा रोगको डर भएपछि जति रमाउन खोजे पनि सकिँदो रहेन छ’, सिद्धिचरण नगरपालिकाकी पार्वती श्रेष्ठले भने ।

कोरोनाको संक्रमण बढ्दो छ । एकातिर कोरोनाको त्रास, अर्कातिर रित्तो गोजी । यही कारण घर बाहिर भएकाहरु फर्किन सकेका छैनन् । विगत वर्षमा जो जहाँभए पनि दशैँमा घर आउने चलन हुुन्थ्यो, यस वर्ष ठीक उल्टो अवस्था छ । जो जहाँ छन् त्यहिँ बसेर जसो तसो दशैं मनाउने तयारीमा छन् । घरमा वृद्ध बुुबाआमा हुनेहरु आशीर्वाद लिन जाने रहर हुँदाहुँदै पनि कोरोनाको जोखिमले यस वर्ष घर फर्किएनन् ।

समुुदायस्तरमै संक्रमण फैलिएकाले जमघट र भेटघाट प्रायः बन्द छन् । शहरबाट गाउँ आएकाहरु होम क्वारेन्टाइनमा बसेका छन् । सरकारले स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ । स्थानीय तह र प्रशासनले जिल्लाजिल्लामा विशेष सुरक्षा योजना लागु गरेका छन् । सुनकोशी गाउँपालिकासहितका स्थानीय तहले दशँैंमा पिङ खेल्न प्रतिबन्ध लगाएका छन् । कोरोना फैलिने डरले जमघट हुने सबै क्रियाकलापमा रोक लगाइएको गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारी बताउनुहुन्छ । बाहिरबाट गाउँआएकाहरु र गाउँमै हुनेहरु भेटघाट हुने थलोका रुपमा पिङ, मेला, खेलकूद जस्ता कार्यक्रम हुने भएकाले त्यसलाई रोक लगाउनुपरेको स्थानीय सरकारका प्रमुखहरुको तर्क छ ।
ठूलाबडा, माइत, मामाघर वा ससुराली टीका थाप्न जानेहरु यस वर्ष नजाने योजनामा छन् । कोसेली लिएर आउने पाहुुनाले कोरोना ल्याउँछन् कि भन्ने त्रास छ । त्यसैले पाहुुना स्वागत गर्न नागरिक त्यति आतुर छैनन् ।

कोरोना संक्रमण रोक्न सरकारले चैतमै लकडाउन गरेपछि धेरैले रोजगारी गुमाए । दशैंँका लागि चैतवैशाखदेखि नै पैसा जम्मा गर्नेले यसपालि एक सुको कमाउन पाएनन् भने भएको पनि बचाउन सकेनन् । चैतमा लकडाउनसँगै रोजगारी गुमाएकाहरु अहिलेसम्म काममा फर्कन पाएका छैनन् । त्यसैले पोहोरपरारको जस्तो किनमेल गरेर र हर्षोल्लासका साथ दशैंँ मनाउने अवस्था छैन । कोरोनाको त्रासका कारण मात्रै होइन, यस पटक पैसा नभएकाले पहिले जस्तो दशैँ हुने अवस्था छैन ।

विगतमा घरमा सिङ्गै खसी ढाल्नेहरु यस वर्ष धार्नीमा मासुु जोखेर ल्याउन बाध्य छन् । नयाँ लुुगा अनिवार्य मान्नेहरु पुुरानामै चित्त बुझाइरहेका छन् । मन खुशी भए धन नभए पनि ऋण काढेर दशैंँ मनाउन तम्सिने नेपालीहरु यस वर्ष दशैंँ जसरी आउँछ त्यसरी जान्छ भन्ने अवस्थामा पुगेका छन् ।

अहिले लकडाउन र निषेधाज्ञा हटे पनि व्यापार व्यवसाय चौपट छ । अघिल्लो वर्ष यतिखेर भ्याइनभ्याई हुने पसलेहरु यतिबेला फुर्सदमा छन्, पसल खालीखाली छन् । पसल खाली भएसँगै काठमाडौंँमा व्यवसाय गर्दै आएका ओखलढुंगाका सन्तोष बस्नेतको मन पनि रित्तो छ । ‘व्यापार व्यवसाय सोचेजस्तोे छैन । दशैंँ लागेको जस्तो त होइन सामान्य अवस्थाको जत्तिको पनि रौनक भएन’, उनी भन्छन्, ‘अहिलेको समयमा भीडभाड गरेर चाडपर्व मनाउनु निकै जोखिम छ । यस वर्ष स्वस्थ रहन सकियो भने अर्को दशैंँमा रमाइलो गर्नुुपर्छ ।’

भीरमै सुक्यो बाबियो, दशैँमा देखिएनन् पिङ
बलेवा, — “गाउँभरिका युवा, बूढापाका र केटाकेटी मिलेर भीरमा साँचेर राखेको बाबियो काटेर ल्याइन्थ्यो, ठूलो चौरमा बसेर बाटिन्थ्यो, बाँसका घारा खोजेर फराकिलो चौरीमा पिङ राखिन्थ्यो, सबै आउँथे, खेल्थे भेटघाट हुन्थ्यो र पो दशैँ आएजस्तो हुन्थ्यो”, बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका वासुदेव आचार्यले पुराना दिन सम्झिए ।

आफ्नो बाल्यावस्थाका दिन सम्झँदा उनलाई अहिले पनि त्यस्तै दशैँ आए हुन्थ्यो भन्ने लाग्छ तर अहिले त बाबियो भीरमै सुक्यो, पिङ बनाउने बाँस सुके । एक त पहिले जस्तो युवाहरुको जमात गाउँमा छैन । अर्कोतर्फ महामारीका कारण गाउँ फर्केका युवासमेत क्वारेन्टिनमा बसेपछि यो वर्ष बागलुङमा पिङ बिरलै देखिए ।

रोटेपिङ र चमच्चा बनाउने सिप कसैसँग छैन । लठ्ठेपिङसमेत यो वर्ष देख्न नपाएको उहाँले गुनासो गरे । “टीका र दक्षिणा संस्कार मात्रै हो, दशैँले त मन जोड्थ्यो”, उनले भने, “अहिले त मनहरु टाढिएका छन्, चौरीहरु खाली छन् । भीरमा हुने बाबियो बूढाबूढी र केटाकेटीले काट्न सक्दैनन् । बाँस काटेर ठड्याउनका लागि पनि बलिया मान्छे चाहिन्छन् । रोजगारीको सिलसिलामा बाहिर रहेकाले दशैँमा घर फर्किँदा पनि खुलेर रम्न नपाएको सोही ठाउँका जीवन शर्मा बताउँछन् ।

“पहिले पहिले दशैँमा घर आउँदा बाटैमा पिङ हुन्थ्यो, गाडी रोकेरै भए पनि खेलिन्थ्यो, अहिले त बाटोमा देख्नेहरु पनि टाढैबाट बोले”, उनले भने, ‘कति निरसिलो दशैँ, तारेभीरको बाबियो सुके होला, रोहोटेका बाँस नुघे होलान्, बाहिर निस्किएको छैन ।”

साना केटाकेटीका लागि यहाँका स्थानीयवासीले आफ्नै घर छेउमा स–साना पिङ बनाइदिएका छन् । वयस्कहरुले भने यस वर्ष कोरोनाका कारण पिङ खेल्न त के देख्न पनि पाएनन् । पहिलेजस्तो जाँगर अहिलेका युवा पुस्तामा छैन । बूढापाकाले करकाप गरेर बनाइने लठ्ठेपिङसमेत बन्न छोडेको काठेखोला गाउँपालिका–७ का वडाअध्यक्ष प्रेम लामिछानेले बताए । “व्यावसायिकरूपमा बनाएका तिनै लठ्ठेपिङमा युवाहरुको ठूलो आकर्षण देख्छु तर आफ्नो पर्वमा आफ्नै आँगनमा पिङ बनाउन युवाहरुले जाँगर देखाउँदैनन्”, लामिछानेले भने, “खर्च भएमात्रै सन्तुष्टि मिल्ने विश्वास विकास हुँदा, संस्कारी बन्न सकिएन ।”

लठ्ठेपिङ बनाउन कम खर्चिलो र सीपसमेत सामान्य भए पुग्छ । लठ्ठो बाट्नका लागि केही सिपालुले सिकाएकै आधारमा सकिन्छ भने झुण्ड्याउन मुटु भएका युवा चाहिन्छन् । महामारी र गाउँ खाली भएका कारण यस वर्ष बागलुङमा पिङले ल्याउने रौनक दशैँमा देख्न सकिएन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board