मुख्यमन्त्री राईले भने- बीपी प्रतिष्ठानले कोरोना उपचारको शुल्क तोक्नु गलत

सुनसरी, ७ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितको उपचार शुल्क लिने निर्णयका लागि प्रदेश सरकारसँग समन्वय नगरी आफूखुसी शुल्क निर्धारण गरेको बताएका छन् । मुख्यमन्त्री राईले प्रतिष्ठानले शुल्क लिने निर्णय गर्नु गलत भएको बताए ।

महामारीमा राज्यले निःशुल्क रूपमा नागरिकको स्वास्थ्य उपचार गर्नुपर्ने बताउँदै प्रतिष्ठानले कोरोना संक्रमितको पीसीआर जाँच र उपचार गर्दा दैनिक १५ हजार शुल्क र ६० हजारसम्म धरौटी राख्नुपर्ने भनी सूचना जारी गरेकोमा मुख्यमन्त्री राईले उक्त निर्णय गलत भएको बताए ।

उनले सर्वसाधारण नागरिकको उपचार गर्न भनेर नै कोभिड अस्पतालका लागि यसअघि १२ करोड ५० लाख दिएको बताए । यसै गरी प्रदेश सरकारले अक्सिजन प्लान्टसहित २ सय बेड विस्तार गर्ने भनेर प्रतिष्ठानमा तयारी भइरहेको बताए । प्रदेश १ का जनतालाई कोरोनाको निःशुल्क उपचार सेवा दिन आन्तरिक छलफलमा व्यस्त रहेको उनको भनाई छ ।

प्रतिष्ठानले कात्तिक ५ गते साँझ सार्वजनिक सूचना जारी गर्दै कोरोना संक्रमणको उपचार गर्नुपरे भर्नाअगाडि ६० हजार रुपैया धरौटी राख्नुपर्ने, त्यसपछि दैनिक १५ हजार रुपैयाँसम्म उपचार खर्च तिर्नुपर्ने जनाएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहका अनुसार संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइको निर्देशनअनुसार शुल्क तोकिएको जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board