नेकपा विवाद : कर्णाली प्रदेश संसदीय दलको बैठक बस्दै

काठमाडौं, ७ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशभित्र देखिएको विवाद सुल्झाउन आज नेकपा कर्णाली संसदीय दलको बैठक बस्दैछ ।

प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध आफ्नै दलका सांसदहरुले सरकार र दलको नेतृत्व प्रभावकारी रुपमा गर्न नसकेको भन्दै अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद बढेको हो । केन्द्रले नै विवाद मिलाउने भने पनि निष्कर्ष नआएपछि विवाद फेरि प्रदेशमै पुगेको छ । तर असन्तुष्ट पक्षले मुख्यमन्त्रीले पेलेर गएको भन्दै आफूहरु बैठकमा सहभागी नहुने बताएका छन् । संसदीय दलमा नेकपा कर्णाली प्रदेशका सहइन्चार्ज समेत रहेका सांसद यामलाल कँडेलको नेतृत्वमा १८ जना सांसदहरुले असोज २५ गते मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराए ।

अविश्वासको प्रस्ताव दर्ता गरेको भोलिपल्ट मुख्यमन्त्री शाहीले दलको प्रमुख सचेतकको जिम्मेवारीबाट सांसद गुलाबजंग शाहलाई पदमुक्त गरेर सचेतक सांसद सिताकुमारी नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरे । मुुख्यमन्त्रीले आफू विरुद्ध आएको अविश्वासको प्रस्तावलाई विफल गराउन प्रस्तावमा हस्ताक्षर गरेका नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सात जना सांसदहरुसंग मन्त्रिपरिषद् पुनर्गठन गर्ने र सचेतक दिने सहमति गरेपछि कर्णालीको विवाद केन्द्रमा टुङ्ग्याउने भन्दै काठमाण्डौ बोलाएपछि उहाहरु काठमाण्डौ आएका थिए ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग दुवै पक्षले दुवै अध्यक्षसंग छलफल गरेपनि निष्कर्षविहीन भएपछि प्रदेशको विवाद प्रदेशमै मिलाउने भनेर विवाद प्रदेशमै आएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board