कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने सरकारको निर्णयप्रति नेता नेपालको आपत्ति

काठमाडौं, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय सरकारले तुरुन्त फिर्ता गर्नुपर्ने बताएका छन् । सरकारले कोरोना संक्रमित बिरामी आफैंले उपचार खर्च व्यहोर्ने निर्णयप्रति आपत्ति जनाउँदै कोरोना माहामरीका बेला नागरिकको आडभरोसाको केन्द्र बन्नुपर्ने सरकारले निःशुल्क उपचार नगर्ने निर्णय गर्नु गैर जिम्मेवारीपन भएको बताएका छन् ।

नेता नेपाललले सरकारको उक्त निर्णयले संक्रमित नागरिक थप मारमा परेको भन्दै मंगलबार एक विज्ञप्ति जारी गरी यस्तो महामारीको बेला सरकारको निर्णय अनुचित भएको बताएका छन् । यस्तो महामारीको बेलामा सरकार आफ्नो दायित्वबाट पन्छिन नमिल्ने उनले बताएका छन् । नेता नेपालले जारी गरेको विज्ञप्तिमा ‘त्यसमा पनि गरिबी अभाव र बेरोजगारीले पिल्सिएका बेसहारा तथा आर्थिक रूपमा विपन्न नागरिकको समस्या प्रति सरकार अत्यन्त संवेदनशील हुनु पर्नेमा नहुनु गम्भीर विषय हो’, उल्लेख गरिएको छ ।

यस्तो छ नेता नेपालले जारी गरेको विज्ञप्ति :
मुलुक कोभिड-१९ को महामारीबाट आक्रान्त भइरहेको र विरामीहरुको संख्या दिनदिनै बढिरहेको बेला नेपाल सरकारले सबै बिरामीको उपचार गर्न नसक्ने भन्दै आफ्नो उपचार आफैँ गर्नका लागि निर्देशिका जारी गरेको कुराप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सरकारको उक्त निर्णयका आधारमा सरकारी अस्पतालहरुले निःशुल्क उपचार बन्द गरेका कारण संक्रमित नागरिकहरु थप मारमा परेका छन् ।

संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय विल्कुल अनुचित छ । यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन । त्यसमा पनि गरीबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रुपमा विपन्न नागरिकको समस्या प्रति सरकार अत्यन्त संवेदनशील हुनुपर्नेमा नहुनु गंभीर विषय हो । संक्रामक रोगसम्बन्धी हाम्रा विद्यमान कानुनी प्रावधानहरुले पनि सरकारलाई यो दायित्व सुम्पिएका छन् भन्ने कुरालाई ध्यानमा राखी सबै नागरिकको उपचार गर्नुपर्नेमा आम नागरिकमा थप आतंक सिर्जना हुने गरी गरिएको उक्त विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु ।
माधवकुमार नेपाल
पूर्वप्रधानन्त्री तथा वरिष्ठ नेता
नेकपा

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति