महोत्तरी, २ कात्तिक । यसपालि महोत्तरी जिल्लाका देवी शक्तिपीठ र मन्दिरहरुमा दशैँ उत्सव नहुने भएको छ । दशैँ पर्वमा आयोजन हुने मेला उत्सवको भीडमा कोभिड–१९ सङ्क्रमण जोखिम बढ्नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले यस्ता गतिविधिमा रोक लगाएको हो ।
जिल्लाको औरही नगरपालिकास्थित सोनामाई प्रसिद्ध देवी शक्तिपीठका रूपमा मानिन्छ । त्यसैगरी जलेश्वर नगरपालिकाको जलेश्वर नगर क्षेत्रभित्रका संसारी माई, राजदेवी माई र बर्दिवास नगरपालिका–४ स्थित पञ्चधुरा माई मन्दिरमा दशैँमा मेला उत्सव र बलि आयोजन हुँदै आएको छ । पर्वको अवसरमा हुने जमघट र भीडमा सङ्क्रमण जोखिम बढ्ने हुँदा यस्तो मेला आयोजन नगर्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।
जिल्लामा कोभिड–१९ सङ्क्रमण बढिरहेका बेला परेको दशैँ पर्व आ–आफ्नो घरपरिवारबीच मात्र मनाउन जिल्ला प्रशासन कार्यालयले शनिबार जारी गरेको निषेधाज्ञा आदेशमा उल्लेख छ । “देवी शक्तिपिठ र मन्दिरमा सम्बन्धित पुजारीले पर्वविशेषको विधिअनुसार नियमित पूजाआराधना गर्नेछन्”, प्रमुख जिल्ला अधिकारी कटुवालको हस्ताक्षरित आदेशमा भनिएको छ, “सामूहिक बलि, मेला उत्सव भने आयोजन गर्न पाइने छैन ।”
जिल्लामा देवी शक्तिपीठ र मन्दिरमा मात्र नभई धेरैजसो गाउँनगर बस्तीमा देवी प्रतिमा स्थापित गरेर मेला आयोजन गर्ने परम्परा छ । यसपालि त्यस्ता मेला पनि आयोजना नगर्न जिल्ला प्रशासनले आदेशमा स्पष्ट पारेको छ । दशैँ पर्वभरि मदिरा बेचबिखन, सार्वजनिकस्थलमा सेवन गरिने काम दण्डनीय हुने आदेशमा उल्लेख छ । निषेधाज्ञाको उल्लङ्घन गर्नेलाई तत्काल कारवाही गरिने कार्यालयले स्पष्ट पारेको छ ।

जिल्लामा दिनदिनै कोभिड–१९ सङ्क्रमण बढिरहेकै छ । जिल्लामा शनिबारसम्म एक हजार ६४८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यो सङ्क्रमणले जिल्लामा १६ जनाले ज्यान गुमाएका छन् । सङ्क्रमण बढ्नुको मुख्य कारण नै भौतिक दूरी निर्वाह नहुनु र सतर्कता नअपनाइनु देखिएको स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड–१९ रोकथाम अभियानका स्रोत व्यक्तिसमेत रहनुभएका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झा बताउँछन् ।
जात्रा, मेला लगाउन रोक
यस्तै, कोरोना सङ्क्रमण बढेको भन्दै जाजरकोट र रुकुमपश्चिमले आफ्नो क्षेत्रभित्रमा मेला, जात्रा लगाउन प्रतिबन्ध लगाएको छ । भेरी नगरपालिका, बारेकोट कार्यपालिकाको बैठकबाट यो निर्णय गरेको हो भने रुकुमपश्चिमले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले धार्मिक, परम्परागत र पर्व विशेषका मेलामा रोक लगाएको हो । बारेकोटमा रामीडाँडा, कार्कीज्यूला, सुगुरखाल मेला लाग्ने गर्दछन् । रुकुममा घटस्थापनादेखि धार्मिक र परम्परागत मेला लाग्छन् । ती सबै मेलालाई रोक्न जिल्ला प्रशासनले सूचना जारी गरेको हो ।
सामाजिक दूरी कायम गरी सतर्कता अपनाई धार्मिक कार्य गर्न भने छुट दिइएको रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए । “सबैतिर जमघट हुँदा कोरोना फैलने भएपछि सबैको सहमतिमा मेलामा रोक लगाइएको हो”, उनले भने, “चाडपर्व मनाउन पनि निश्चित मापदण्ड बनाएका छौँ ।”जिल्लामा दशैँदेखि धार्मिक, परम्परागत तथा पर्व विशेषका मेला हप्तैपिच्छे लाग्छन् । डिग्रे साइकुमारी, चौतारा, चिसापानी, बेलटापु, कुनाखेत, शङ्खपिपललगायत मेला जिल्लाका ठूला मेला मानिन्छन् । प्रशासनले सूचना जारी गरेसँगै पाँच दिनसम्म लाग्ने डिग्रेमेला पनि यो वर्ष नलाग्ने भएको हो । मेला भर्न देशका विभिन्न ठाउँका साथै भारतबाट पनि भक्तजन आउँछन् । डिग्रेमेला हरेक वर्ष हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म लाग्ने गर्छ ।
चितवनमा पनि रोक
यस्तै, जिल्ला प्रशासन कार्यालयले चाडपर्वलाई लक्षित गर्दै जिल्लामा हुने विभिन्न किसिमका उत्सव र जात्राहरु नगर्न निर्देशन दिएको छ । कोरोनाको सङ्क्रमण बढ्नसक्ने भन्दै चाडपर्व लक्षित कार्यक्रमहरु बन्द गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । चाडपर्वमा पारिवारिक भेटघाट बाहेकका अन्य कार्यक्रमहरु नगर्न सबैमा जानकारी गराइएको छ । अघिल्ला वर्षहरुमा हुने गरेका विभिन्न प्रतियोगिता तथा कार्यक्रम नगर्न निर्देशन दिइएको उनले बताए । उनले भने, “नवरात्रिको समयमा मठमन्दिर एवं शक्तिपीठहरुमा दर्शन निषेध गरिएको छ । जिल्लामा हुने सबै किसिमका मेला महोत्सवहरु नगर्न आयोजकहरुलाई आग्रह गरिएको छ ।”
मठमन्दिर एवं शक्तिपीठमा नित्य पूजाबाहेक दर्शन लगायतका अन्य गतिविधि रोकिएको हो । कोरोना सङ्क्रमणको त्रासमा चाडपर्वलाई मर्यादित बनाउँदै घरपरिवारसँग बसेर मनाउनुपर्ने शर्माले बताए । अहिलेको महामारीको समयमा स्थानीय प्रशासनको आदेश पालना नगर्नेलाई सङ्क्रामक ऐन, २०२० आदेश अपहेलनाअनुसार कारबाही गरिने उनले उल्लेख गरे ।
प्रतिक्रिया