नेपाल आउने तयारीमा भारतीय सेनाध्यक्ष नरभाने

काठमाडौं, २८ असोज । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभाने नेपाल आउने भएका छन् । सीमा विवाद र कोरोना भाइरसको महामारीका कारण रोकिएको भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको तयारी थालिएको छ ।

नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन छ । त्यसैका लागि नरभाने नेपाल आउन लागेका हुन् । नेपाली सेनाको जंगीअड्डा स्रोतका अनुसार नरभानेलाई कात्तिक महिनाभित्रै नेपाल भ्रमणमा आउने गरी औपचारिक निमन्त्रणा पठाउन लागिएको छ ।

भारतीय पक्षसँग अनौपचारिक संवादपछि निम्तो पठाउन लागिएको सैनिक स्रोतको दाबी छ । भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्रलाई मिचेर सडक निर्माण गरेपछि दुई देशबीच सीमा विवाद सतहमा आएको थियो । त्यहीबीच नरभानेले नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । प्रकरणपछि मानार्थ सेनापतिको सम्मान दिने प्रचलन नै रोक्न माग समेत गरिएको थियो । प्रधानसेनापति पूर्णचन्द्र थापाले भने २९ पुस २०७५ मा भ्रारत भ्रमण गरेर मानार्थ सेनापतिको सम्मान ग्रहण गरिसक्नु भएको छ ।

उहा नेपाल फर्किएपछि २० माघ २०७६ को मन्त्रिपरिषद बैठकले भारतीय सेना प्रमुख नरभाने र इजरायलका सेना प्रमुख अभी जोकोभिचको नेपाल भ्रमण स्वीकृत गरिसकेको छ । त्यही अनुसार नरभानको भ्रमण हुन लागेको हो । मानार्थ सेनापतिको सम्मान सेनाका परमाधिपति राष्ट्रपतिबाट प्रदान गर्ने चलन छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board