आईपीएल : प्लेअफ पुग्‍ने चेन्‍नईको आशा जीवितै

काठमाडौ, २८ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) चेन्नई सुपर किंग्सको प्लेअफमा पुग्ने आशा जीवितै बनाउँदै मंगलबार सनराइजर्स हैदराबादलाई २० रनले पराजित गरेको छ । हैदराबादलाई अन्तिम ओभरमा विजयनिम्ति २२ रन चाहिने अवस्थामा ड्वायने ब्राभोले १ रनमात्र दिँदै १ विकेट लिएपछि चेन्नईले पुनः विजयको लय समातेको हो ।

चेन्नईले पहिलो ७ खेलमा दुईमा मात्र जित हात पार्दै पुछारबाट दोस्रो स्थानमा थियो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पाएको यस विजयले टोलीलाई एक स्थान माथि पुर्‍याएको छ । हैदराबादको पनि ६ अंक नै भए पनि राम्रो रनरेटमा चेन्नईभन्दा अगाडि रहेको छ ।

१ सय ६८ रनको विजय लक्ष्य पाएको हैदराबादले ८ विकेट गुमाई १ सय ४७ रनमात्र बनाउन सक्यो । ब्राभोले अन्तिम ओभरमा शाहबाज नदिमलाई आउट गरेका थिए । कप्तान डेबिड वार्नर ९, जोनी बेरिस्टो २३ र मनीष पाण्डे ४ रनमै आउट भएको अवस्थामा केन विलियम्सनले सर्वाधिक ५७ रन बनाए । उनले ३९ बल खेल्दै ७ चौका प्रहार गरे ।

प्रियम गर्ग १६, विजय शंकर १२, रशिद खान १४ रनमा आउट भए । नयाँ बलमा बलिङ गरेका साम कुरानले ३ ओभरमा १८ रनमात्र खर्चेर वार्नरको विकेट लिए । ब्राभोले ३ ओभरमा २५ र करन शर्माले ४ ओभरमा ३७ रन खर्चेर २–२ विकेट लिए । कुरानसँगै जडेजा र शार्दुल ठाकुरले १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको चेन्नईले १६७–६ को स्कोर बनाएको थियो । चेन्नईको सुरुआत राम्रो हुन सकेको थिएन । ओपनर फाफ डु प्लेसिस तेस्रो ओभरमा आफूले सामना गरेको पहिलो बलमै डकआउट हुन पुगे । सन् २०१४ यता उनी आईपीएलमा पहिलोपल्ट शून्यमा आउट भएका हुन् । सन्दीप शर्माको बलमा उनले विकेटकिपर बेरिस्टोलाई क्याच दिन पुगे ।

ओपनरको भूमिकामा पठाइएका कुरानले २१ बलमा ३१ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । शेन वाटसनले चेन्नईबाट सर्वाधिक ४२ रन जोडे । तेस्रो नम्बर ब्याटिङमा झरेका वाटसनले ३८ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गरे । अम्बाती रायडुले ३४ बलमा ३ चौका र २ छक्कासहित ४१, कप्तान महेन्द्रसिंह धोनीले १३ बलमा २ चौका र १ छक्कासहित २१ रन बनाए । रवीन्द्र जडेजा १० बल खेली ३ चौका र १ छक्का प्रहार गरी २५ रनमा अविजित रहे ।

ओपनिङ बलर सन्दीप शर्माले ४ ओभरमा १९ रन मात्र खर्चेर २ विकेट लिए । टी नटराजनले ४ ओभरमा ४१ र खलिल अहमदले ४ ओभरमा ४५ रन खर्चेर समान २ विकेट लिए । बुधबार दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच खेल हुनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board