जनप्रतिनिधि र सञ्चारकर्मी नै कोरोना सङ्क्रमित भएपछि

काठमाडौं, २७ असोज । पछिल्ला केही दिनयता महोत्तरीमा जनप्रतिनिधि र सञ्चारकर्मी कोरोना कोभिड–१९ सङ्क्रमणमा पर्ने क्रम बढेको छ ।

सोमबार अबेर राति जिल्लाको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नगरप्रमुख साह आफैँले आफ्नो पिसीआर जाँचको नतिजा पोजेटिभ आएको सार्वजनिक गरे ।

“पछिल्ला चार दिनयता ज्वरो आउने र जिउ, हात कटकटी दुख्दै आएको थियो”, प्रमुख साहले भने , “सोमबार जनकपुरमा स्वाब परीक्षणका लागि दिएँ, पोजेटिभ नतिजा आयो ।” अब बाह्य सम्पर्क सबै बन्द गरेर घरमै उच्च सतर्कतासाथ आइसोलेसनमा बसेको साहको भनाइ छ । भङ्गाहा–४ का वडाध्यक्ष अशोककुमार महतो पनि सङ्क्रमित भए । अहिले महतो सङ्क्रमणमुक्त भइसकेका छन् ।

यसैबीच महोत्तरीका सञ्चारकर्मी एकपछि अर्को सङ्क्रमणको चपेटामा परेका छन् । अहिले राससकर्मी गोपालप्रसाद बराल र कान्तिपुरकर्मी सुनिता बराल पिसीआर परीक्षणबाट कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेसनमा हुनुहुन्छ । गोपालको गत बिहीबार र सुनिताको गत शनिबार सङ्क्रमण पुष्टि भएको हो ।

यसअघि अन्नपूर्णकर्मी राजकरण महतो र न्यूज–२४ का ललनकुमार मण्डलमा कोभिड–१९ पुष्टि भएको थियो । यद्यपि महतो र मण्डल दुवै सङ्क्रमणमुक्त भइसकेका छन् । महतोमा असोज १० गते र मण्डलमा गत भदौमै स्वाब परीक्षणबाट सङ्क्रमण पुष्टि भएको थियो । जनप्रतिनिधि र सञ्चारकर्मी आफैँले सङ्क्रमण पुष्टिबारे सार्वजनिक गरेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति