उपभोक्ता ठगी गर्ने व्यापारी धमाधम कारवाहीमा

नवलपरासी, २६ असोज । बर्दघाट-सुस्ता पश्चिममा पछिल्लोपटक कालोबजारी गरी उपभोक्ता ठगी गर्ने व्यापारी धमाधम कारवाहीमा पर्न थालेका छन् । उपभोक्ता हित संरक्षण ऐन २०७५ ले कालोबजारी, महँगी, कृत्रिम अभाव गर्ने व्यापारीलाई जरिवाना गर्नेसम्मको कारवाहीको अधिकार दिएपछि यहाँका व्यापारी कारवाहीमा परेका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीको नेतृत्वमा रहेको जिल्ला बजार अनुगमन समितिले अनियन्त्रित बजार नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्रता दिँदै उपभोक्ता ठगी गर्ने व्यापारीलाई धमाधम कारवाही गरिरहेको छ ।

पछिल्लोपटक भारतबाट ल्याएर अवैध रुपमा लुकाइछिपाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्ने प्रतापपुर गाउँपालिका–२ गोपिगञ्जका दुई व्यापारी कारवाहीमा परेका हुन् । भारतीय बजारबाट वस्तु आयात गरी बिलबिनै अखाद्य वस्तु बिक्री गरिरहेको गुनासो आएपछि सहायक प्रजिअ माझीको नेतृत्वमा गएको अनुगमन टोलीले गोपिगञ्जस्थित दोस्ती पान तथा किराना पसललाई रु दुई लाख जरिवाना गरेको छ ।

अनुगमन समितिलाई बिक्रीका लागि राखिएको सुर्तीजन्य पदार्थ देखाउन तथा गोदाम पनि निरीक्षण गर्न नदिएपछि लुकाएर राखेको सुर्तीजन्य पदार्थ जफत गरी रु दुई लाख जरिवाना गरिएको निरीक्षण अधिकृत एवं सहायक प्रजिअ माझीले जानकारी दिए । लेबलबिनै उत्पादित वस्तु बजारमा पठाएको पाइएपछि बर्दघाट नगरपालिका–१२ चौपत्ताको सूर्य मसला उद्योगलाई सिल गरिएको अनुगमन टोलीका सदस्य लुम्बिनी प्रदेशको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रुपन्देहीका अधिकृत नारायण न्यौपानेले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय, उपभोक्ता हित संरक्षण निर्देशनालय, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, प्रतापपुर गाउँपालिका, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिसहितको अनुगमन समितिले गोपिगञ्जमा रहेका खाद्यान्न, किराना, फेन्सी, हार्डवेयर, एग्रोभेट, पान पसललगायत १० वटा फार्ममा अनुगमन गरेको थियो ।

केही दिनअघि पनि कालोबजारी गरी प्याज बेच्ने व्यापारीलाई कारवाही गरिएको थियो । अत्यधिक मूल्य वृद्धि गरी प्याज बिक्री गरिरहेका सदरमुकाम परासीका पाँच व्यापारीलाई रु ६० हजारका दरले जरिवाना तिराएपछि प्रति केजी रु १२० देखि रु १३० मा बिक्री हुँदै आएको प्याजको मूल्य घटेर अहिले रु ८० मा झरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति