काठमाडौं, २५ असोज । आज विहानै कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । रुपन्देहीमा ४, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३, बाँकेमा २ र चितवन १ जनाको मृत्यु भएको हो ।
रुपेन्देहीमा मृत्यु हुनेहरुमध्ये तीनजना बुटवल उपमहानगरपालिकाका र एकजना तिलोत्तमा नगरपालिकाका हुन् । बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको हो । बुटवलमा आईसीयू बेड नभएपछि उनलाई दाङको बेलझुण्डीस्थित कोरोना अस्पताल लैजान रिफर गरिएकोमा बाटोमै आज बिहान मृत्यु भएको हो । यस्तै बुटवल ११ की ६१ वर्षीया महिलाको आज बिहान २ बजे मृत्यु भयो ।
असोज २१ गते नै कोरोना संक्रमण पुष्टि भएको उनमा श्वासप्रश्वासको समस्या थियो । यस्तै बुटवल–१ का ७० वर्षीय पुरुषको गएराति १० बजे धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयू कक्षमा मृत्यु भएको छ । उनमा उनमा निमोनिया र श्वासप्रश्वासको पनि समस्या थियो । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिलाको शनिबार दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको छ ।
ती महिला उच्च रक्तचाप र मधुमेहको दीर्घ रोगी थिइन् । भरतपुर महानगरपालिका वडा नं १ निवासी ७५ वर्षीया महिलाको चितवन मेडिकल कलेज भरतपुरमा आज विहान मृत्यु भएको हो । दम, उच्च रक्तचाप र निमोनियासम्बन्धि समस्या थियो । यसैवीच बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका– १० ट्राफिक चोकका ८४ वर्षीय वृद्ध र कोहलपुर नगरपालिका– ८ निवासी ७१ वर्षीया वृद्धाको गएराति मृत्यु भएको हो । त्यसको पाँच मिनेटको अन्तरमा १० बजे महिलाको मृत्यु भएको थियो । त्यसैगरी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमित मृत्यु भएको छ । दुहबीका ६५ वर्षीय पुरुषको र धनकुटाकी ६१ वर्षीय महिलाको आज बिहान तथा सुनसरीको धरान–८ की ६२ वर्षीया महिलाको गएराति मृत्यु भएको हो ।
COMMENTS