आइतवार विहानै कोरोनाबाट ७ जनाको मृत्यु

बुटवल, २५ असोज । आइतवार विहानै कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । रुपन्देहीमा ४ जना, चितवन १ जना र बाँकेमा २ जनाको मृत्यु भएको हो ।

रुपेन्देहीमा मृत्यु हुनेहरुमध्ये तीनजना बुटवल उपमहानगरपालिकाका र एकजना तिलोत्तमा नगरपालिकाका हुन् ।

बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको हो ।

बुटवलमा आईसीयू बेड नभएपछि उनलाई दाङको बेलझुण्डीस्थित कोरोना अस्पताल लैजान रिफर गरिएकोमा बाटोमै आइतबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

यस्तै बुटवल ११ की ६१ वर्षीया महिलाको पनि उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको छ ।

असोज २१ गते आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा आइतबार बिहान २ बजे मृत्यु भएको डा। गौतमले पुष्टि गरे ।

असोज २१ गते नै कोरोना संक्रमण पुष्टि भएको उनमा श्वासप्रश्वासको समस्या थियो ।

यस्तै बुटवल–१ का ७० वर्षीय पुरुषको गएराति १० बजे धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयू कक्षमा मृत्यु भएको छ ।

शनिबार अस्पताल भर्ना भएका उनमा असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

अस्पतालका सूचना अधिकारी डा. गौतमका अनुसार उनमा उनमा निमोनिया र श्वासप्रश्वासको पनि समस्या थियो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिलाको शनिबार दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको छ ।

आईसीयू बेडको अभावका कारण ती महिलालाई रुपन्देहीबाट शुक्रबार राति साढे १० बजे बेलझुण्डी अस्पतालमा पुर्याइएको थियो ।

उनलाई आईसीयूमा राखेर उपचार शुरु गरेपनि शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

ती महिला उच्च रक्तचाप र मधुमेहको दीर्घ रोगी थिइन् ।

चितवनमा थप एक सङ्क्रमितको मृत्यु

जिल्लामा थप एक जना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं १ निवासी ७५ वर्षीया महिलाको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।

दम, उच्च रक्तचाप र निमोनियासम्बन्धि समस्या भई असोज २२ गते अस्पताल भर्ना भएकी उनको असोज २३ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो ।

अस्पतालको कोभिड सघन उपचार कक्षमा राखेर उपचार भईरहेको समयमा आज बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ ।

यसैवीच बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका– १० ट्राफिक चोकका ८४ वर्षीय वृद्ध र कोहलपुर नगरपालिका– ८ निवासी ७१ वर्षीया वृद्धाको शनिबार राति मृत्यु भएको हो ।

बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा उपचाररत वृद्धको शनिबार राति ९ ५५ बजे मृत्यु भएको हो ।

त्यसको पाँच मिनेटको अन्तरमा १० बजे महिलाको मृत्यु भएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि पीसीआर परीक्षण गर्दा पुरुषमा गत असोज ६ गते र महिलामा १४ गते कोरोना सङ्क्रमण देखिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board