काठमाडौं, २१ असोज । नेपालमा कोरोनाभाइरस कोभिड १९ संक्रमितको संख्या २५ हजार नाघेको छ । सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा देशभर ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाबाट संक्रमण हुनेको संख्या यो अहिलेसम्मकै उच्च दर हो । योसँगै संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।
कोरोना संक्रमणका कारण ५७८ जनाको मृत्यु भएको छ भने ६८ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११२६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभर २५ हजार ७ संक्रिय संक्रमित छ । १४ हजार ४११ होम र १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २३३ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरिसकेको छ । असोज ७ गते मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।
COMMENTS