Banner First

सचेत रहँदा रहँदै कोभिड पोजेटिभ बनेका हामीहरु

सायद आठ नौं बर्ष नै भए होला हाम्रो भान्सामा दुधको चियाको लागि प्रयोग हुने चियापत्ती प्रयोग हुन छोडेको । कहिलेकाहीँ साथीभाइ नातापाताको चाहाना बाहेक हामीले चियापत्ती खान छोडेकै लामो समय भएको छ । हामी प्राय हर्वल चिया प्रयोग गर्छौ । तुलसी चियामा थोरै चिनी राखेर खाए पनि दिनको एकपटक बिहानमा हो, नभए चिनी नभएको हर्वल चिया नै प्रयोग गछौं । कहिलेकाहीँ म दुधको कफी खान्छु । म मासुको अलि सोखी भएकोले श्रीमान र छोरीसँग खानपान मिल्दैनथ्यो ।

पछि छोरा पनि म जस्तै खानको सोखी निस्केकोले हामीहरुको समुुह बराबर भयो । भान्सा मेरो मात्र हातमा हुने भएकोले पनि निकै सचेतताको साथ भान्साको ख्याल राख्थेँ । सानैबाट किचेन र त्यहाँ पाक्ने खानालाई परिवारको निकट एकताको सम्वाहकको रुपमा लिने मेरो स्वभाव थियो । त्यसैले पनि हाम्रो सिँगो परिवारमा मेरो किचनको राम्रै चर्चा हुने गर्छ । नढाँटी भन्दा निकै सचेत बनेर म किचनमा चुलो बाल्नेगर्छु आज पनि । खानु पेट भर्नको लागि मात्र हैन स्वाद र स्वास्थ्य पनि किचेनसँग जोडिएको हुन्छ भन्ने ज्ञान हुँदाहुँदै मेरो घरभित्र भित्रिएको कोभिडले सुरुमा जस्तो तनाव त पक्कै छैन, र पनि सोच्ने गर्छु मिस्टेक कहाँनेर भयो त ?

दुनिया कोभिड महामारीसँग जुधिरहेको समय नेपालमा पनि गत चैत पांच गतेबाट लकडाउन सूुरु भयो । हामी नियमित अफिस जाने आउने गर्थेउं । फागुनको लास्ट बाट सानो बाबुको परीक्षा भएकोले म फागुनको तेइस चौविस गतेबाट नै अफिस जान छोडेकी थिएँ । अनेक अप्ठ्यारो भएपनि अफिस चल्नुपथ्र्यो । केही समय कोही घरबाटै कोही अफिसबाट गरेर अफिस चलेको थियो । केही सहपाठीहरु नियमित नै हुनुहुन्थ्यो र आज पनि हुनुहुन्छ । महामारीले अनेक समस्याहरु भए पनि अफिस त चलाउनु नै पर्यो । स्कुल कलेजहरु बन्द भएको र बच्चाहरु घरमै भएकोले पनि म अफिस जान सकिन । शुभ रेगुलर अफिस जाने गर्नुभयो ।

एकदमै सचेत बनेर हरेक कुराहरु पालना गर्दै अफिस जाने आउने गर्नुहुन्थ्यो । कोभिड आउनु भन्दा अगाडि या पछाडि हामीले नियमित आफुले पालना गर्नुपर्ने स्वास्थ्य प्रोटोकल पालना गरेका थियौं । कोभिड सुरु भएपछि अनेक हर्वल कुराहरु यो खाने उ खाने भन्ने कुरा पनि भए । हाम्रो भान्सामा त्यो भन्दा अगाडिबाट नै यस्ता कुराहरु प्रवेश गरिसकेका थिए । निकै सचेत थियौं हामी, खानपान उठबस हामीले कुनै कम्प्रोमाईज गरेका थिएनौँ । निकै कम भेटघाट आउजाउ पुर्ण रुपमा बन्दनै थियो ।

मलाई लागेको थिएन कोभिड यति सजिलै हाम्रो परिवारमा प्रवेश गर्छ । तर अचानक एकदिन शुुभलाई ज्वरो आयो । राती एकसय दुई डिग्री देखिएको ज्वरो भोलिपल्ट बिहान सय देखियो । हामी एकदमै सचेत बनेर घरमै आइसोलेसन तयार गर्यौं । तर अर्को दिन पनि ज्वरो सय देखिए पछि हस्पिटल गयौं । दुई दिन हस्पिटल बसेपछि फेरि घरमा आयौं । त्यतिखेरसम्म चारजनाको परिवारमा एकजनालाई पोजेटिभ देखिइसकेको थियो । हामी तीन जनाको रिपोट नेगेटिभ थियो ।

हुन त हाम्रो परिवार ठुलो छ । र पनि हामी अलग अलग बस्ने भएकोले हामी चारजना मात्र सँगै बस्छौं । परिवारको सबैभन्दा पाको मान्छेलाई कोभिड पोजेटिभ देखिएपछि म पनि निकै आत्तिएँ । तर समय एकनास हुँदैन हरेक कुराहरुलाई समयले बलियो बनाउँदै जान्छ । कमजोर बनेर हतास रहेर भन्दा पनि बलियो बनेर बिरामीको हेरचाह गर्दा छिटो निको हुन्छ जस्तो लाग्यो ।

फेरि पनि किचेनलाई नै स्टेगं र स्वस्थ बनाउदै बिरामीको सेवामा लागिरहें । शुुभलाई पोजेटिभ देखिएको छ दिनपछि ड्राइर्भरको पनि पीसीआर टेष्ट गरियो । उनको रिपोर्ट नेगेटिभ आयो । हामीले सँगै टेष्ट गरेका थियौं त्यतिखेर हाम्रो पनि नेगेटिभ थियो । हामीले त्यहि नेगेटिभलाई आधार बनाएर आफुहरु पुर्ण स्वस्थ रहेको महसुस गरेयौं । तर छ दिन पछि सानो छोरालाई ज्वरो आउन थाल्यो । उसको ज्वरो पनि त्यहि प्रकारको थियो । जसरी बाबुलाई आएको थियो । त्यही दिनबाट छोरीको घाँटी दुख्न सुरु गर्यो । सानो छोराको ज्वरोको प्रकार पनि आउने छोड्ने खालको थियो । निकै टाउको दुख्ने ज्वरो आउने भइरहयो । मेडिकल साइन्सको विद्यार्थी भएकोले पनि छोरीले आफ्नो ख्याल आफै राख्थिन तर छोरा सानो थियो । उसको आँखा दुख्ने टाउको दुख्ने भइरहेको थियो ।

मेरो पनि सबै शरीर दुख्न सुरु गरेको थियो । शुुभ बिरामी भएपछि भाइहरुले चाहिने सबै सामानहरु घरमै ल्याइदिने गरेका थिए । बिरामीलाई हस्पिटल लाने खाना खान लैजाने सामान किन्ने घरमा आइसोलेसन तयार गर्ने सबै काममा म सँगै भाइहरु पनि थिए । त्यसमा पनि सानो भाइ बढी सँगै थियो । तर छ दिन पछि उसलाई पनि कोभिड पोजेटिभ देखियो । भित्र भित्र मेरो मन निकै दुख्यो । फोन गरेर पोजेटिभ देखायो भन्दा पहिले त मैले विश्वास गरिन पछि यहीँ सँगै बस्ने कुरा भयो । बुढा भएका बुवा आमा केटाकेटी छन, यहीँ बोलाउ म सँगै बस्छ भनेर शुभले भनेपछि सानो भाइ पनि सँगै आइसोलेसनमा बस्न सुरु गर्यो ।

हामी तल तीनजना थियौं । सानो बिरामी नै थियो छोरी पनि बिरामी थिइ । मैले सानो बाबुको ज्वरोको बिषयमा डाक्टरसँग सल्लाह गरें । डाक्टर भोला रिजालसँग पनि कुरा गरेँ । सानैबाट उस्लाई हेर्दै आउनुभएकी डाक्टर रिता सिंहसँग सल्लाह गरेर एलर्जीको औषधी खान दिएको अर्को दिनबाट नै उसलाई ज्वरोले छोड्यो । छोरीको घाँटी दुखिरहेको थियो । मैले पटक पटक सोध्थँे केही गाह्रो भयो की भनेर । उसले छैन भन्थी । तर मलाई थाहा थियो उ बिरामी नै छ भन्ने । मेरो पनि पुरा शरिर दुखिरहेको थियो । हातमा सलाइन चढाएर भर्खरै झिकेजस्तो कडाखालको दुखाई थियो ।

पुरा शरीर दुखेर सुत्न पनि मिलेको थिएन । घुडा दुखेर तलमाथि गर्न निकै गाह्रो भएको थियो र पनि घरमा सबैको जिम्मेवारीले किच्दै गर्दा म एउटा थलापरेको बिरामीसँगै जिम्मेवार नर्सको भुमिकामा थिएँ । साँच्चै भोगाइ अनौठो हुनेरहेछ । सायद सुन्नेहरुले यस्ता कुरालाई मात्र कहानी र कथाको रुपमा लेलान तर यो भोगाइ निकै तितो र सत्य हुनेरहेछ ।

तीन चारदिन पछि सानो छोरा पुरा रुपमा स्वस्थ देखियो । तर छोरी अझै पनि स्वस्थ थिइन । घरमा कसैले पनि कुनै गन्ध पाउन छोडेको एकहप्ता भन्दा बढी भैसकेको छ । भान्सामा पकाएको कुनै पनि कुराको गन्ध आजसम्म पनि छैन । आइतवारबाट कलेजले पीसीआर लिएर आउन भनेपछि छोरीको पीसीआर चेक गरियो । उनमा पनि पोजेटिभ देखियो ।

आज हामी सबै परिवार कोभिडको इन्फेक्टेड रहेका छौं । कोरोनालाई हल्का रुपमा लिएर जे गरे पनि हुन्छ भन्नेमा हामी थिएनौं । यो सात महिनामा दुध लिन जाँदा समेत डिस्टेन्स मेन्टन गर्दैनौं भनेर मेरो श्रीमानले आफै दुध ल्याउने काम गर्नुभयो । हामी बिहान तरकारी किन्न समेत गाडी लिएर जान्थेउँ । निश्चित भेटघाट बाहेक कहीँ कतै नहिँड्ने घरमा पनि निकै सतर्कता अपनाउँदा अपनाउँदै सिंगो परिवार कोभिडको बिरामी भएर घरमा बस्नुपर्दाका यी दिनहरुमा अनेक मानिसहरुका अनेक स्वभावहरु पनि जान्ने मौका मिल्यो ।

कतिलाई लागेको छ, यो हामीलाई लाग्नै सक्दैन हामी दुनियाका अलौकिक मानिस हौं । तर त्यति सजिलै यसलाई नलिउँ । हामीलाई पनि आफुलाई नलाग्ने समयसम्म यो केही हो जस्तो लागेको थिएन । फेरि लागिहाले पहाडै खस्छ जस्तोगरी पनि नडराउँ । लागिहाले पनि अवश्य निको हुन्छ ।

तर मानिस मानिस बीचको भावनात्मक सम्बन्धलाई बलियो बनाउँदै यो रोगको नेचर बुझौँ । आफुलाई नपर्ने समयसम्म जे कुरालाई पनि हाँसोको माध्यम बनाउने मानवीय स्वभाव नै हो त्यसलाई आजैबाट बदलौँ । जे पनि हुन सक्छ तर त्यसको लागि तयार बनौं । पहिलो पोजेटिभ देखिएको आज तेह्र दिन भैसकेको छ आजसम्म आउँदा पनि कसैले कुनै कुराको गन्ध पाउन सकेका छैनौं । शरीरका अर्गानहरु आफ्नो फम्र्याटमा आउन अझै केही समय लाग्ला, तर जे होस हामी छिटै निको हुनेछौं ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124, 01-4011125

  • [email protected] [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2020 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board