पदयात्रा र पर्वतारोहण खुला, क्वारेन्टिन अनिवार्य

काठमाडौं, १३ असोज । नेपालमा पदयात्रा र पर्वतारोहण खुला गर्र्ने सरकारले निर्णय गरेको छ । पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अब अनअराइभल भिसा पाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

पर्यटन मन्त्रालयले पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेको हो । कोरोना महामारीपछिको विषम परिस्थितिमा पर्यटन क्षेत्र खुला गर्न मन्त्रालयले यस्तो निर्णय गरेको बताएको छ ।

नेपाल आउने सबै पर्यटकको ५ हजार अमेरिकी डलर प्रतिव्यक्ति बराबरको बिमा गरिएको कागजात समेत अनिवार्य गरिएको छ ।नेपालमा आउने सबै पर्यटक सात दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्छ ।

क्वारेन्टिनमा बसेको पाँचौ दिनमा पर्यटककै खर्चमा पीसीआर परीक्षण गरिनेछ । उक्त परीक्षणमा नेगेटिभ आएमा मात्र पदयात्रा र पर्वतारोहणमा जान सकिने गरी प्रावधान बनाइएको छ । नेगेटिभ नआएसम्म भने होटेलबाट बाहिर जान नपाउने गरी शर्त तोकिएको बताईएको छ ।

विदेशबाट पर्वतारोहण वा पदयात्राका लागि आउने पर्यटकले नेपाल आउनु अगावै नेपालको भिसा प्राप्त गरेको हुनुपर्ने र सम्बन्धित देशमा नेपालको भिसा उपलब्ध नहुने अवस्था, समूहमा पर्वतारोहण, र पदयात्राका लागि नेपाल आउन चाहने पर्यटक दलले नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वसहमति लिई मात्रै नेपाल आउन सक्ने बताएको छ ।

अध्यागमन विभागले उनीहरुका लागि अनअराइभल भिसा दिने बताईएको छ । नेपाल आउने सबै पर्यटकको बढीमा ७२ घण्टा अगाडिसम्मको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने प्रावधान गरिएको छ । यो प्रमाणपत्र अध्यागमन विभागले भिसा दिने समयमै हेर्ने बताएको छ ।

नेपालमा पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तीमा १ लाख रुपैयाँको कोरोनासम्बन्धी बिमा गर्नुपर्ने भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board