विदेशबाट ८० हजार १६ नेपाली स्वदेश फर्किए, अन्य अलपत्रको निःशुल्क उद्धार गर्न आग्रह

काठमाडौँ, १२ असोज , कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र सिसीएमसीका अनुसार शनिबारसम्म ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक मुलुक फर्केका हुन । मुलुक फर्कनेमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २३ हजार २३७ छन् भने सबभन्दा कम श्रीलङ्काबाट पाँच जना रहेका छन् । उनीहरु अधिकांश रोजगारीका लागि र केही अध्ययन, तालिम प्रशिक्षण, उपचार र परिवारिक भेटघाटका सिलसिलामा तत् मुलुकमा पुगेका थिए ।

केन्द्रका अनुसार हालसम्म साउदी अरेबियाबाट १२ हजार ३८१, मलेशियाबाट ११ हजार ६५१, कतारबाट ११ हजार १५०, कुवेतबाट आठ हजार ४७८, जापानबाट एक हजार ७५४, दक्षिण कोरियाबाट एक हजार ४४७, ओमनबाट एक हजार ३२५, बहराइनबाट एक हजार २७४, अष्ट्रेलियाबाट एक हजार ९१, टर्कीबाट ९३६, बङ्गलादेशबाट ८८८, माल्दिभ्सबाट ८५३, सिङ्गापुरबाट ५५५, अमेरिकाबाट ४३०, चीनबाट ३३३ र जोर्डनबाट ३१७ नेपाली स्वदेश फर्केका हुन् ।

स्वदेश फर्कनेमा प्रदेश नं १ का १४ हजार ६११, प्रदेश नं २ का १२ हजार तीन, वाग्मती प्रदेशका १८ हजार २६४, गण्डकी प्रदेशका नौ हजार ३०, प्रदेश नं ५ का ११ हजार ६११, कर्णाली प्रदेशका एक हजार ५२५ र सुदूरपश्चिम प्रदेशका एक हजार ७४५ रहेको केन्द्रले जनाएको छ । फर्कनेमध्ये ११ हजार २२७ जनाको भने प्रदेश विवरण प्राप्त नभएको जनाइएको छ ।

अलपत्र नागरिकको निःशुल्क उद्धार गर्न सरकारसँग आग्रह
त्यस्तै,गैरआवासीय नेपाली सङ्घ एनआरएनएको आठौँ एशिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलनले विश्वव्यापी महामारी कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत निःशुल्क उद्धार गर्न सरकारसँग आग्रह गरेको छ ।

भर्चुअल माध्यमबाट दुई दिनसम्म चलेको बैठकले एशिया प्रशान्त क्षेत्रका मुलुक तथा खाडीलगायत अन्य मुलुकमा रोजगार गुमाएर अलपत्र परेका, विदेशी भूमिमा रोग र भोकको भयमा रहेका, प्रवेशाज्ञा सकिएर अलपत्र परेका र अन्य विविध कारणले विदेशमै रोकिएका नागरिकलाई बिनाशर्त यथाशीघ्र निःशुल्क उद्धार गर्न आग्रह गरेको हो ।

सम्मेलनले विदेशमा अलपत्र नागरिकलाई सहज स्वदेश फर्काउने वातावरण सिर्जनाका लागि नेपालमा हुने हवाई उडानको सङ्ख्या वृद्धि गर्नसमेत अनुरोध गरेको छ । वैदेशिक रोजगारबाट फर्किएका नेपाली श्रमिकको पुनः एकीकरण र रोजगारका लागि सङ्घ र नेपाल सरकारबीच स्वदेशमै रोजगार सिर्जनाका लागि सहकार्य गर्ने निर्णय गरेको छ ।

वैदेशिक रोजगारको विविधीकरणमा जोड दिँदै सम्मेलनले उचित पारिश्रमिक, कम जोखिम तथा मानवअधिकार तथा सामाजिक सुरक्षा सुविधा भएका गन्तव्य मुलुकको खोजी गरी ती मुलुकमा वैदेशिक रोजगारको व्यवस्था मिलाउन सरकारसमक्ष अनुरोध गरेको छ । यसैगरी मुलुकको आर्थिक विकासमा योगदान बढाउने र वैदेशिक रोजगारीमा रहेका नागरिकको सामाजिक सुरक्षाको सुनिश्चितता गर्न पनि सरकारसँग आग्रह गरिएको छ ।

सम्मेलनले गैरआवासीय नेपालीको सहकार्यमा श्रमिक सूचना बैंक कार्यान्वयन गराउने र विदेशबाट फर्किएका नेपालीको सीपसहितको तथ्याङ्क राख्ने व्यवस्थालाई प्रभावकारी बनाउन तथा विदेशमा आर्जन गरेको ज्ञान, सीप र प्रविधिलाई नेपालमा भित्र्याई आधुनिक कृषि, शिक्षा, स्वास्थ्य, प्रविधिलगायत क्षेत्रमा उपयोग गरी स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सबै गैरआवासीय नेपालीलाई आह्वान गरेको छ ।

गैरआवासीय नेपाली सङ्घ महिला फोरमले हालसम्म गरेका कामको प्रशंसा गर्दै सम्मेलनले महिलाको उद्यमशीलता विकास तथा लगानी अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरमको सक्रियतामा शुरु भएको सीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिलाको सहभागिता सुनिश्चित गराउने निर्णय गरेको एशिया प्यासिफिक संयोजक रोविन्दप्रसाद श्रेष्ठ गोविन्दले जानकारी दिए ।

पच्चीस देशका २०० प्रतिनिधि सहभागी सो बैठकको मूल विषय ‘आप्रवासी नेपाली कामदार : स्वदेश फिर्ता, पुनः एकीकरण र रोजगार’ र पहिलो क्षेत्रीय ज्ञान सम्मेलनको मूल विषय ‘नेपालीबीचमा ज्ञान आदानप्रदान : कोभिड–१९ महामारीका कारण उद्यमीको अवसर र चुनौती’ थियो । सम्मेलनको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शनिबार उद्घाटन गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board