अबको केही दिन लगातार ठूलो पानी वा झरी नपर्ने

काठमाडौं, १२ असोज । मौसम पूर्वानुमान महाशाखाले अबको केही दिन लगातार ठूलो पानी वा झरी नपर्ने जनाएको छ । महाशाखाका अनुसार भारतको पूर्वी बिहार आसपास रहेको न्यूनचापीय प्रणाली कमजोर हुने क्रममा रहेकाले अबको केही दिन ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना रहेको बताएको हो । साथै मनसुन बाहिरिने संकेत देखिन थालेको महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।

मौसमविद् अर्यालका अनुसार मनसुन सकिने लक्षण देखिन थालेकाले अबको एक हप्ताभित्र मनसुन बाहिरिने अनुमान छ । पश्चिमबाट पूर्वतिर हावा सर्न थालेको उनले बताए । यस्तै देशभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिएको मानिनेछ ।लगातारको झरीपछि बिस्तारै पानी पर्ने क्रम कम हुँदै गएको छ । अबको केही दिनमा पानी नपरे मनसुन बाहिरिने संकेतको रुपमा मान्न सकिने पनि उनले बताए। नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुने गर्छ ।

तर यसवर्ष २ दिन ढिला गरी मनसुन भित्रिएको थियो । यसैबीच आज प्रदेश नम्बर १, वाग्मती, गण्डकी र प्रदेश नम्बर ५ का थोरै ठाउँहरुमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज राति पनि प्रदेश १ र गण्डकी प्रदेशमा सामान्य बद्ली भएर थोरै ठाउँहरुमा मात्र सामान्य पानी पर्ने सम्भावना छ । भोलि र पर्सिको मौसम पनि यस्तै रहने उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति