कोरोनाले अहिलेसम्म १७ देशमा रहेका २६५ नेपालीको मृत्यु

काठमाडौं, ११ असोज । कोरोना भाइरस संक्रमणका कारण विदेशमा थप २१ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । यो सातामात्रै साउदी अरेबियामा १४, कुवेतमा ५, यूएईमा १ र युगान्डामा १ जना गरी शनिबार साँझसम्म थप २१ जनाको मृत्यु भएको हो ।

कोरोना संक्रमणका कारण अहिलेसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपालीको ज्यान गइसकेको गैरआवासीय नेपाली संघ एनआरएनएले जनाएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना भाइरसबाट संक्रमति भएका छन् ।

तीमध्ये ३५ हजार ७८ जना संक्रमण मुक्त भएका छन् । यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो । यो साता पोर्चुगल, बेलायत, साउदी अरेबिया, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

हावाबाट कोरोना सर्दैन
गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिले नेपालमा हावाबाट कोरोना सर्छ भन्दै विभिन्न अनलाइन मिडियामा आएका समाचारप्रति सत्यता नभएको प्रष्ट पारेको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाले भने । “दुई मिटरसम्मको दूरीमा एक अर्काका कोरोना भाइरस गर्दैन, कोनोना भाइरस हावाबाट अर्कोमा सर्ने सम्भवना निकै कम हुन्छ ।” स्वास्थ्य समितिले कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको जानकारी दिँदै बाहिर निस्कने समय मास्क लगाउन गर्न आग्रह गरेको छ ।

कोरोनाका कारण विश्वव्यापी लकडाउनपछि आत्महत्यामा भएको वृद्धिप्रति पनि चिन्ता व्यक्त गर्दै आफ्नो परिवारभित्र एकले अर्कोलाई प्रशस्त समय दिन पनि समितिले सुझाव दिएको छ ।

७८ हजारको उद्धार
कोरोना भाइरसको सङ्क्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकामा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ । हालसम्म गैरआवासीय नेपाली सङ्घ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३२ देशमा अलपत्र परेका ७८ हजार ३४३ नेपालीको उद्धार गरिएको छ ।

चीनबाट कोरोना भाइरसको सङ्क्रमण भए लगत्तै गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड–१९ उच्चस्तरीय समिति विदेशमा अलपत्रमा परेका नेपालीको उद्धार र राहत वितरणमा सक्रिय रहेको सङ्घले जनाएको छ । सङ्घअन्तर्गतको स्वास्थ्य समितिले विदेशस्थित नेपाली कूटनीतिक नियोग, गैरआवासीय नेपाली सङ्घका राष्ट्रिय शाखा, विदेशका विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, सामाजिक सङ्घसंस्था लगायतबाट प्राप्त सूचनाको आधारमा विगत २४ सातादेखि लगातार विदेशमा कोरोना भाइरसबाट प्रभावित नेपालीको तथ्याङ्क सङ्कलन गर्दै आएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board