आशङ्कामा कोरोना परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह : नेपालमा कोरोनाका जटिल बिरामी बढ्दै

काठमाडौँ, ११ असोज । सरकारले यात्रा गर्नेबित्तिकै आशङ्कामा कोरोना परीक्षण नगर्न सबैमा आग्रह गरेको छ । सङ्क्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएको पाँच दिनअघि परीक्षण गराउँदा आफूमा सङ्क्रमण छरछैन भन्ने थाहा नहुने भन्दै स्वास्थ्य मन्त्रालयले यात्रा गर्नेबित्तिकै हतारमा कोरोना परीक्षण नगर्न आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यात्रा गर्ने व्यक्तिले दुई सातासम्म क्वारेन्टिनमा बस्नुपर्ने र सो अवधिमा कोरोना भाइरससम्बन्धी कुनै लक्षण देखिएमा स्थानीय सरकारलाई जानकारी गराउन पनि आग्रह गरे । दुई सातासम्म कोरोना सङ्क्रमणको कुनै लक्षण नदेखिए पिसिआर परीक्षण गर्नु आवश्यक नहुने उनको भनाइ छ । अत्यन्त जरुरी भए मात्र यात्रा गर्न सुझाव दिँदै उनले यात्राका क्रममा तोकिएको जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न अनुरोध गरेका छन् ।

लकडाउन खुलेलगत्तै विभिन्न पेशा व्यवसायका सिलसिलामा राजधानी भित्रने व्यक्तिलाई घरधनी वा छिमेकीले पिसिआर परीक्षण गरेर मात्र आउन दबाब दिएको र पिसिआर परीक्षणका लागि सर्वसाधारणले दुःख पाएको भन्दै मन्त्रालयले राजधानी भित्रने बित्तिकै परीक्षणका लागि दबाब नदिन पनि अनुरोध गरेको छ ।

डा गौतमले आफ्नो घरमा भाडामा बस्नेलाई यात्रा गरी आएको दुई सातासम्म कोठाभित्रै एक्लै बस्ने वातावरण सिर्जना गरिदिन आग्रह गरे । “कोठामा बस्ने हरेक मानिस तपाईंका परिवारका सदस्य जस्तै हुन्, सधैँ पैसा तिरेर तपाईंको गर्जो टार्ने व्यक्तिलाई पराइको व्यवहार नगर्न र अप्ठ्यारो परिस्थितिमा मानवीयता नगुमाउन अनुरोध गर्दछु”, उनले भने।

जटिल बिरामी बढ्दै

पछिल्ला केही दिनयता जटिल कोरोना सङ्क्रमितको सङ्ख्या बढेको छ । शनिबारसम्म २४४ को आइसियू र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बाग्मती प्रदेशमा १२१, प्रदेश ५ मा ४४, प्रदेश २ मा २०, कर्णाली प्रदेशमा १८, प्रदेश १ मा १५ र गण्डकी प्रदेशमा ६ जनाको आइसियूमा उपचार भइरहेको छ ।

यस्तै बाग्मती प्रदेशमा २३, प्रदेश ५ मा तीन र प्रदेश १ मा १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय सङ्क्रमित छैनन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति