स्थानीयको भनाइलाई विश्वास मान्दा गलत प्रतिवेदन : चिनियाँ भूमिमै भवन बनेको टोलीको निष्कर्ष

सिमकोट, १० असोज । ललुङ्जोङमा निर्माण गरिएका सबै भवन चिनियाँ भूभागमै रहेको निष्कर्ष निकालिएको छ । चिनियाँ पक्षले नेपाली भूभागमा भवन बनाएको भन्ने बारेमा स्थलगत अनुगमनमा नेपाली टोली गएको थियो । नाम्खा गाउँपालिकाको लाप्चा क्षेत्रको भवन निर्माण स्थलमा दुवै देशका अधिकारीले दुई देशको नक्सा हेर्दा सो भवन चिनियाँ भूमिमै रहेको नेपाली टोलीले निष्कर्ष निकालेको हो ।

नेपाली टोलीका प्रमुख प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरिले ललुङ्जोङमा नेपाली र चिनियाँ अधिकारीले दुई देशका नक्सा हेर्दा भवन बनेको क्षेत्र चिनियाँ भूभागमा देखिएको बताए । सीधा रूपमा नक्सा हेर्दा सो स्थान नेपाली भूभागमा नपर्ने बताउँदै तथ्यगत रूपमा बुझेर मात्र सो विवाद बाहिर ल्याउन उनले आग्रह गरे । सीमा अनुगमनको महवपूर्ण उपलब्धि भनेकै नेपाली पक्षले हराएको भनिएको ११ नम्बर सीमा स्तम्भ पत्ता लाग्नु रहेको प्रजिअ गिरीले स्पष्ट पारे ।

सहायक प्रजिअद्वारा गल्ती स्वीकार

नेपाल र चीनको सिमाना लाप्चा क्षेत्रमा नेपाली भूमिमा चिनियाँ पक्षले घर बनाएको प्रतिवेदन गल्ती भन्दै हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले क्षमा मागेका छन् । स्थानीय बासिन्दा र जनप्रतिनिधिको भनाइलाई विश्वास मान्दा गलत प्रतिवेदन दिन पुगेको भन्दै सहायक प्रजिअ हमालले गृह मन्त्रालयले मागेको स्पष्टीकरणमा जवाफ दिँदै क्षमायाचना गरेका हुन ।

केही समयअघि लाप्चा क्षेत्र पुग्नुभएका हमालले स्थानीय बासिन्दाको कुरा सुनेकै आधारमा प्रतिवेदन दिनु गल्ती भएको स्वीकार गरेका छन् । यसअघि उनलाई गृह मन्त्रालयले सो विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board