Banner First

कोभिड-१९ सँग संघर्षका ५२ घण्टा

हुनत अझै कति समय समयले परिक्षा लिन्छ, त्यो दिन हामी मानसिक रुपमा तयार नै छौं । र, पनि मानिसको मन न हो एकपटकमा अनेक यात्रा गरेर पुुनः त्यही ठाउँमा फर्किन निकै गाह्रो हुनेरहेछ । मनलाई सम्झाउन निकै कठिन पनि हुनेरहेछ । शायद यो पहिलो पटक त पक्कै हैन । सशस्त्र जनयुद्धको हिमाइती भन्दै साँझ राइस कुकरमा पकाएको खाना खान नपाई बेपत्ता बनाइएको त्यो समय र आजको समय मनले नै तुलना गर्न खोज्यो । जीउ सिरिङ्ग भयो । अनेक कुराहरुले मनमा तरंग मच्चाउन थाले ।

लाग्यो, हामी त्यतिबेला पनि कमजोर थिएनौंं र आज पनि छैनौं । आफूले आफैलाई सम्झाउने यौटा कडी न हो । समस्या त जस्ताको तस्तै छ । सोच्दा पनि मुटु दुखेर आउने । जिब्रो लर्बराएर बोल्न पनि नसकिने । यौटा प्रत्यक्ष भोग्ने मानिसभित्रको पीडा कति दर्दनाक हुन्छ त्यो शायद कसैले महसुस गर्न पनि सक्दैन ।

हुनत यो समय हाम्रो लागि मात्र हैन दुनियाकै लागि परिक्षाको समय हो । आज कोभिड–१९ ले संसार हल्लाएको छ । सबै ठप्पजस्तै बनेका हरेक संरचनाहरु पुन आफ्नो ठाउँमा फर्किन सकेका छैनन् । बल र शक्तिले अनि मिसाइल र बमले शक्तिसम्पन्न भन्नेहरु पनि यो रोगबाट घुँडा टेकेको समयमा आफूलाई नपर्दासम्मको परिस्थिति निकै फरक रहेछ । जब कुनै पनि कुरा आफूमाथि पर्छ त्यसपछिको अवस्था न सम्झाउन सक्ने हुनेरहेछ न सम्झिन सकिने । अचम्मको हुुनेरहेछ मानिसको मन पनि ।

अनेक उडानहरु भर्दै जाँदा ठप्प रोकिएको जहाजजस्तो । लामो यात्राको लागि गुडेको रेल बाटोमा रोकिएर टप्प भएजस्तो । र पनि त समस्यासँग जुध्नु नै पर्यो । समस्या र दुःखका पोयाहरु फुकाउँदै जाँदा कहिं विचरा बनिएला कहिं कायर बनिएला । फेरि पत्थरजस्तो हुन पनि कहाँ सकिनेरहेछ र ? कहिं न कहिं नचाहँदा नचाहँदै पनि फिसल्लिएर पग्लिने रहेछ । यी लामा घण्टा र सेकेण्डहरुमा मेरो मनले अनेक यात्रा गरिरहँदा अझै लामा यात्राहरुको मापन गर्न कठिन भएन । आखिर फैसला समयको न हो ।

सामान्य टाउको दुखेको केही समय भएको थियो । पेन म्यानेज गर्ने इन्जेक्सन प्रयोग गरेको बिहान तीन बजेबाट शुभलाई ज्वरो आएर कहराइरहनु भएको रहेछ । म ब्युझिएँ । यसो छाम्दा शरीर तातेको थियो । तपाईंलाई त ज्वरो आयो भनेपछि हामी दुुवैजना उठ्यौं । सिटामोल खानुभयो । ज्वरो आएपछि भुइँमा बिस्तरा लगाइदिएँ, सजिलो हुन्छ भनेर । बिहान उठेपछि नर्मल भयो । घाँटी भने अलि खराब थियो । उहाँलाई पहिल्यैबाट धेरै बोल्यो भने घाँटी सुक्ने समस्या थियो ।

हामीले कोभिड–१९ को त मतलबै गरेनौं । हामीसँग प्रत्यक्ष सम्पर्कमा नारन आचार्य सर हुनुहुन्थ्यो । उहाँसँग हामी धेरै कुरा, अन्तरंग कुरा पनि गर्छाै । विहान ब्रेकफास्ट खाइसकेपछि फेरि शरीर तात्दै गयो ज्वरो नाप्यौं सय रहेछ । मैले गिज्याएँ । तपाइलाईं त कोरोना भयोकि क्या हो, फेरि ज्वरो आयो त । अब पीसीआर चेक गरौं । हामीले ख्याल ख्यालमै नारन सरलाई फोन गर्यौं । ओजस आयुर्वेद सेन्टरको अध्यक्ष र स्वास्थ्यक्षेत्रमै काम गर्ने भएकोले हामीले सबै स्वास्थ्यसम्बन्धी कुराहरु पनि उहाँलाई भन्ने गर्छौं । अब पीसीआर चेक गर्नुपर्छ भनेर कुरा गरिरहँदा डाक्टर भोला रिजालले फोन गर्नुभयो । तुरुन्त हस्पिटल जाउ र सबैले पीसीआर चेक गर, ढीला गर्नु हुँदैन भन्नुभयो । उहाँलाई त ज्वरो आएको पनि थाहा थिएन ।

हामीले पीसीआर चेक गर्न ढीला गर्नुहुँदैन जस्तो ठान्यौं र नारन सरलाई भन्यौं । घरमै टेस्ट लिन आउने सुविधा पनि रहेको थाहा पाएपछि हामीले घरमा नै टेस्टको लागि बोलायौं । बिहानैबाट आइसोलेसन तयार गरेर हामी तयारीमा रह्यौं । कतिखेर रिर्पोट आउला र के होला भन्ने कुराले निकै अत्यास लाग्यो ।

पाँच घण्टा बिताउन पनि पाँच युुगजस्तो लागेको समय एकजनाको रिर्पोट पोजेटिभ आएपछि मलाई लाग्यो, जमीन हल्लिरहेको छ । कतै भूकम्प त गएन ? बच्चाहरुको अगाडि अनि बिरामीको अगाडि कठोर बनेर आइसोलेसनमा आफ्नो मान्छेलाई एक्लै पठाएपछिका घण्टाहरु बिताउन कति कठिन भयो यो शब्दमा भन्न पनि सकिंदैन । हुनत दुनियाँमा समस्या र अप्ठ्यारोसँग नजुधेका मानिसहरु कमै हुन्छन् । र, पनि यो अप्ठ्यारोले पुनः शाहीकाल सम्झाउन थाल्यो । दुनियाँ चलायमान थियो जताततै गाडीहरु चलिरहेका थिए । मानिसहरु आफ्नो रफ्तारमा हिंडिरहेको समय । थिएनन् त उनी मात्र । मैले त्यतिबेला सोच्ने सोच र आजको परिवेशले फेरि मन नमीठो बनेको थियो । दिउँसोबाट नै छतका कोठाहरुलाई आइसोलेसन रुम बनाएकोले उनी एक्लै माथि छतको कोठामा गए । हामी जाने कुरा पनि भएन ।

सबै ढोकाका ह्यान्डिलहरुमा सेनिटाइज गरेर बत्ती ननिभाइ म सानो बच्चा लिएर कोठामा छिरें । समय आफ्नो गतिमा हिंडिरहेको थियो । खै, किनहो पटक्कै निद्रा लागेन । शायद बढी नै कायर बनिएछ क्यारे । अनगिन्ती कुराहरुले दिमाग सल्बलाउन लाग्यो । विगतदेखि वर्तमानसम्म नियाल्दै जाँर्दा सिंगो रात बितेर बिहानको चार बजिसकेछ । उठेर माक्स लगाएर माथि गएँ । उनी सुतिरहेका थिए । मलाई आफू निकै कमजोर भएको महसुस भयो । कुचो हातमा समाएर सिंगो घर सफा गर्न निस्कँदा फोनमा घन्टी बजिरहेको थियो । मन अताल्लिएको थियो । मानिस निकै एक्लो छ र उसले आफ्ना समस्याहरु एक्लै समाधान गर्न सक्नुपर्छ हैन भने त यो दुनिया न हो, हजारौं सवाल जवाल जवाफहरु गर्न सकिहाल्छ नि । आफूले आफैंलाई सम्झाउँदै जाँदा हजारौं सहयोगी मनहरुलाई अन्याय गरेंजस्तो लाग्यो ।

शरीर फेरि पनि तात्न थाल्यो । थर्मामिटरले तापक्रम नाप्दा सय देखिएपछि हामी घरमा बस्नुहुँदैन हस्पिटल गएर सबै चेकअप गर्नुपर्छ भन्ने सोच्यौं । डाक्टर भोला रिजाल र ओजस आयुर्वेदका अध्यक्ष नारन सरको सल्लाहमा हामी ह्याम्स हस्पिटल जाने निर्णय ग¥यौंं । बिहानको ब्रेकफास्ट गरेर हस्पिटल पुुगेपछि इमर्जेन्सी कक्षमा नै छातीको चेकअप गरेर भर्ना प्रक्रिया पूरा गरियो । यहाँसम्म आइपुग्दा घण्टा मिनेट सेकेन्डहरु आफ्नै गतिमा बगिरहेका छन् ।

हामी पनि आफूलाई संयमित राख्दै दुनियाँ लडेको कोभिडसँग लडेर यसलाई अवस्य जित्न सकिन्छ भन्नेमा तयार छौं । हतोत्साहित र कमजोर भएर हैन निडर आत्मबलको साथ यो रोगसँग लड्ने सामथ्र्य तयार गर्न हामीलाई माया गर्ने शुभचिन्तकहरु साथ र हात दिन तयार रहनुहुने सम्प्र्ण सहयोगी मनहरुसँग भावनात्मक डोरी बाँध्दै अझै बलियो बनेर फेरि एकपटक जीवनमा नयां बिहानी आउने आशा गर्दैछौ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124, 01-4011125

  • [email protected] [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2020 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board