काठमाडौं, ९ असोज । नेपालमा बितेको २४ घण्टामा देशभर १४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भई ४५७ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्म ५० हजार ४११ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।
अहिले देशभरि १८,४३७ जनामा सक्रिय सङ्क्रमण छ। संस्थागत आइसोलेशनमा ८ हजार ६१४ जना रहेका छन् भने होम आइसोलेशनमा ९ हजार ८२३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६९,००० नाघेको छ।
थप १७ जनाको मृत्यु
नेपालमा बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण थप १७ जनाको ज्यान गएको छ । नेपालमा अहिलेसम्म ४५३ सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्यांकले देखाउँछ । मन्त्रालयका अनुसार बुधवार अपराह्णदेखि बिहीवारसम्म ११,४४९ वटा नमुनाको परीक्षण भएको छ ।
गम्भीर लक्षण भएका बिरामीमध्ये २३२ जना सघन उपचारमा र २८ जना भेन्टिलेटरमा छन्। अहिले देशभरि ६,५६५ जना क्वारन्टीनमा छन्।
उपत्यकामा थप ७५५ जना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७५५ जना कारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित भेटिएका छन् ।
प्रतिक्रिया