५८ वर्षपछि भेटियो नेपाल-चीन सीमा छुट्याउने ११ नम्बर पिलर

काठमाडौं, ८ असोज । नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर पिलर ५८ वर्षपछि भेटिएको छ । लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको हो ।

हुम्लास्थित नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिएको जानकारी अनुसार हुम्लाकै प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले बुधबार स्तम्भ भेट्टाएको हो । सीमास्तम्भ नाम्खा गाउँपालिका–६ को टाकुलेमा भेटिएको उनले मिडियामा जानकारी दिएका हुन् ।

उनका अनुसार उक्त पिलर हिउँ र माटोले पुरिएको अवस्थामा स्तम्भ भेटिएको हो । स्तम्भ भेटिएपछि अब रेखांकन गर्न सहज हुने भएको छ । उनका अनुसार यसले अहिले चीनले संरचना बनाएको लोलुङजोङ क्षेत्र कतातिर पर्छ भन्ने पनि स्पष्ट पार्नेछ ।

११ नम्बर सीमास्तम्भमा फोटो खिच्दै सुरक्षाकर्मी । तस्बिर : विष्णु लामाको फेसबुकबाट

नाम्खा गाउँपालिका–६ लाप्चाको लोलुङजोङ क्षेत्रमा चीनले निर्माण गरेका भवनको विषयमा हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरी नेतृत्वको टोली स्थलगत अध्ययन गर्न गएको थियो । लोलुङजोङमा चिनियाँ अधिकारीसँगको वार्ता सफल नभएपछि प्रजिअ गिरी नेतृत्वको टोली त्यहाँबाट हिल्सा गएको थियो । स्तम्भमा नेपालपट्टि २०१९ साल र चीनपट्टि १९६२ लेखिएको छ ।

गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङ भन्छन् , ‘सीमास्तम्भ त भेटिएको छ । तर चीनले भवन बनाएको भूभाग कसको हो भन्ने अझै यकिन हुन सकेको छैन,’ अध्यक्ष तामाङले भने, ‘तर अव बर्षौंदेखिको विवाद भने सुल्झिने हामीले अपेक्षा गरेका छौं ।’

पहिलोपटक २०७२ सालमा हुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सीमा बैठकमा उक्त स्तम्भबारे एजेण्डा राखेका थिए । उक्त बैठकमा दुवै पक्ष मिलेर पिलर खोजी गर्ने निर्णय भएको थियो । तर, खोजीकार्यले गति लिन भने सकेको थिएन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति