कोरोना संक्रमणबाट थप पाँच जनाले गुमाए ज्यान

काठमाडौं, ८ असोज । आज विहान कोरोना संक्रमणका कारण पाँच जनाले ज्यान गुमाएका छन् । नवलपरासी पश्चिम, कपिलवस्तु, चितवन, डडेल्धुरा र सप्तरीमा एक–एक जनाको मृत्यु भएको हो । बुटवलको कोरोना अस्पतालमा उपचाररत नवलपरासी पश्चिम र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको छ ।

उनीहरु दुवैजना सात दिनदेखि भेन्टिलेटरमा थिए । गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको आज बिहान ४ बजे मृत्यु भएको हो । उनी कलेजो र मिर्गौलाका दीर्घ रोगी थिए ।

यस्तै असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी थिए ।

त्यस्तै, चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । तनहुको आँबुखैरहनी नगरपालिका ३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ । उनको गएराति १२ः५५ बजे मृत्यु भएको हो ।

डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो । कोरोना संक्रमणसंगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भईरहेको थियो । उपचारका क्रममा राति उनको मृत्यु भएको हो ।

त्यस्तै, डडेलधुरामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुई दिनअघि भारतबाट आएका उनी श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए । मृतकका आफन्तले दिएको जानकारी अनुसार उनमा भारतमै कोरोना पुष्टि भएको थियो भने डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको हो । योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १६ पुगेको छ ।

त्यस्तै, सप्तरीमा कोरोना संक्रमित एकजना सरकारी कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयमा कार्यरत ५५ वर्षीय कार्यालय सहयोगी पुरुषको कोरोना संक्रमणले आज बिहान ५ बजेतिर मृत्यु भएको हो । गत ३१ भदौमा कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा रहँदै आएका थिए । शुरुवाती समयमा ज्वरो देखिए पनि पछिल्लो चार दिन यता उनको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द ठाकुरले बताए । स्वास्थ्य अवस्था सामान्य रहेको अवस्थामा उनको मृत्यु भएको ठाकुरले बताए ।

मृत्यु भएका पुरुष प्रमुख जिल्ला अधिकारीको निवासमा खाना बनाउने गर्थे । उनी लामो समयदेखि प्रजिअ निवासमै खाना पकाउने काम गर्दै आएका थिए । योसंगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board