आँटिला पर्वतारोही आङरिता: जसले नेपाल छाडेर कहीं जान मानेन !

काठमाडौं – आँटिला पर्वतारोही आङरिता शेर्पाको ७२ वर्षको उमेरमा राजधानीमा सोमबार निधन भयो । उनले विनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरेका थिए । आङरिताले सगरमाथासँगै नेपालका अधिकांश अग्ला हिमाल पनि आरोहण गरेका थिए । जसले गर्दा उनलाई हिउँचितुवाको उपनामले पनि चिनिन्छ ।

सन् १९४८ मा खुम्बु क्षेत्रको हिलजुङ गाउँमा जन्मिएका उनले २० वर्षकै उमेरमा चोयु हिमालको आरोहण गरेका थिए । ३४ वर्षको उमेरमा आठ हजार एक सय ६२ मिटर अग्लो धौलागिरि हिमाल चढेका उनले सन् १९८३ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए ।

राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । शेर्पाको असोज ५ गते काठमाडौंमा निधन भएको थियो ।

आज बिहान टेकु दोभानमा धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे । सुरक्षाकर्मीहरुले शेर्पाप्रति सलामी अर्पण गरेर अन्त्येष्टि गरिएको छ । शव यात्रासहित शेर्पाको शव टेकु दोभानसम्म पुर्याईएको थियो । शवयात्रामा लामा धर्मगुरुहरु, आरोहीहरु, आफन्तजनलगायतको सहभागीता थियो ।

आँटेको काम पूरा गरेरै छाड्ने उतको विश्वभरि चर्चा
विनाअक्सिजन सगरमाथा चढेपछि आङरिताको विश्वभरि चर्चा भएको थियो । उनले विनाअक्सिजन पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको आरोहण गरेका थिए । आङरिताले कुनै पनि आरोहणमा अक्सिजनको प्रयोग गरेनन् । उनीसँगै धौलागिरि आरोहण गरेका नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा भन्छन्, सबै आरोहण विनाअक्सिजन गर्ने अरू कोही आरोही छैनन ।

सन् १९८३ देखि १९९६ सम्म आङरिताले १० पटक सगरमाथाको आरोहण गरेका थिए । आँटेको काम पूरा गरेरै छाड्ने स्वभावका उनले सन् १९९६ पछि भने विभिन्न रोगले गाँज्दै जाँदा आरोहणमा जान छाडेका थिए ।

साधारण र ईमान्दार व्यक्तित्व
आङरितालाई थुप्रैले विदेशमा अफर गर्दा पनि उनी गएनन् । १० पटकसम्म सगरमाथा आरोहण गरेर पनि आर्थिक हिसाबले भने उनी कहिल्यै सम्पन्न भएनन् । पर्वतारोहण संघका पूर्वअध्यक्ष शेर्पा भन्छन्, – ‘आङरिता धेरै राष्ट्रवादी हुनुहुन्थ्यो, नेपाल छाडेर उहाँ कहीँ पनि जान मान्नुभएन,’ पर्वतारोहण संघका पूर्वअध्यक्ष शेर्पाले भने । नेपाल र सगरमाथाको विश्वभरि प्रचार हुनुमा आङरिताको ठूलो योगदान रहेको छ ।

आङरिताको निधनको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, सिन्ह्वा, टाइम्स अफ इन्डिया, सिएनएन, बिबिसीलगायत प्रमुखताका साथ सम्प्रेषण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली, लगायत चर्चित व्यक्तिहरुले पनि कीर्तिमानी आरोही आङरिताको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरे ।

३८०० मिटर उचाईमा पर्ने सोलुखुम्बुको थामे गाउँमा जन्मिएका थिए आङरिता शेर्पा । शेर्पाको बुझाईमा प्रकृतिभन्दा ठूलो केही छैन, पर्ख, हेर र अगाडि बढ । भन्ने सोच्थे । उनले हिमाललाई सम्मान र आदर गर्ने गर्थे । हिमालले पनि उनलाई प्रख्याती दियो, विश्वप्रसिद्ध बनायो ।

आङरिताको अवसानसँगै पर्वतारोहण क्षेत्रमा एउटा चम्किलो तारा निभेको छ । आङरिताका तीन छोरा र एक छोरी छन् । उनी छोरीसँग काठमाडौंमा बस्थे । सन् १९९६ मा अन्तिम पटक सगरमाथाको आरोहण गरेका उनले त्यसपछि पनि विश्वको सर्वोच्च शिखरमा पुग्ने इच्छा पालेका थिए। स्वास्थ्यले साथ दिए र राम्रो टोलीसँग जाने विशेष प्रस्ताव आए आरोहण गर्ने उनले बताए पनि गम्भिर प्रकृतिको कलेजोको रोग लागेकाले उनको त्यो इच्छा पूरा हुन पाएन।

बरू उनका दुई छोराहरू कर्साङ र छेवाङ शेर्पा आफ्नो बुवाको पदचाप पछ्याउँदै पर्वतारोहणमा लागे। सन् १९९९ मा आफ्नो पर्वतारोहण करिअर अन्त्य गर्ने बेलासम्म पुग्दा उनले आठ हजार मिटर भन्दा अग्ला हिमालको आरोहण १८ पटक गरेको बताइन्छ। त्यसमा लगभग सबै अक्सिजन प्रयोग नगरी गरिएका थिए। नेपाल पर्वतारोहण सङ्घले शेर्पाको निधनलाई नेपालको पर्वतारोहण क्षेत्रमा भएको ठूलो क्षति भनेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board