यो देशमा
मैदानहरू खालि छन्
पार्क बनेको छैन
नत बनेको छ कुनै खेलको कोर्ट
खालि मैदानमा देखाइरहन्छन्
जोकरहरू सर्कस।
सर्कस हेर्नू र दिन कटाउनु
जोकरहरूको बेढँगको खेल हेर्नू
बेफ्वाँकका गफहरू सुन्नु
चुरोट बुङ्बुङ् उडाउनु
चिया पिउनु
र समय टेक्नु
हरेक नागरिकको
कर्तव्य बनेको छ
खालि मैदानमा।
जोकरहरू बाघ खोरमा थुन्छन्
र हुँकार गर्छन्
हाती चड्छन्
र राजा बनेको गर्भ देखाउँदै नाटक गर्छन्
घरी खाडलमा बाइक कुदाँउछन्
घरी कार दौडाँउछन्
मानौ मैदान उनीहरूको पेवा हो
हुनपनि मैदान एकलौटी उनकै भएको छ
दर्शकहरू उनीहरू हुँइकिएको
र सुँइकिएकोमा तालि बजाँउछन्।
जोकरहरूले दर्शकलाई मानौ
हिप्नोटाइज गरेको छ
जोकरलाई पैसा पनि दिन्छन्
र मैदान पनि छाडिदिन्छन्
जोकरहरू मस्तिले राज गर्छन्
याँहा सदैव मैदानहरू खालिरहन्छन्
र जोकरहरू आरामले सर्कस देखाइरहन्छन्।
उदय निरौला भक्तपुर (पुर्व मधुपर्क सम्पादक ) कवि
COMMENTS