नेपालमा अहिलेसम्मै बढी २०२० जनामा कोरोना संक्रमण, थप ७ जनाको मृत्यु

काठमाडौं, २ असोज । नेपालमा बितेको २४ घण्टामा थप २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पहिलो पटक आज नेपालमा एकै दिनमा दुई हजार कोरोना संक्रमितको संख्या नाघेको हो । पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ वटा पीसीआर परीक्षणमा २०२० संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

सरकारी तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना रहेका छन् र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ८७१ जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार संक्रमितमध्ये १७३ जना आईसीयूमा र ३६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

थप ७ जनाको मृत्यु
नेपालमा बितेको २४ घण्टामा थप ७ जनाले ज्यान गुमाएका छन् । सो अवधिमा सात जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । सरकारका अनुसार अहिलेसम्म ३९० जनाको कोभिड—१९ सँग सम्बन्धित कारणले मृत्यु भएको हो ।

उपत्यकामा थप ८४९ जना संक्रमित
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप ८४९ जना संक्रमित भेटिएका छन् । कामठाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित पुष्टि भएको हो ।

प्रदेश अवस्था
त्यस्तै, प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा सङ्क्रमितको सङ्ख्या धेरै छ। त्यसमा पनि काठमाण्डू उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ। बिहीवार १,२४६ जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यसको अघिल्लो दिन १,५३९ सङ्क्रमित फेला परेका थिए।

५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा मोरङ, सिराहा, सुनसरी, ललितपुर, मकवानपुर, चितवन, काठमाडौं, भक्तपुर र रुपन्देही रहेका छन् । त्यस्तै शून्य संक्रमित रहेको जिल्लामा सोलुखुम्बु, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला र मुगु रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति