घरभाडा छुुट दिनेलाई पुरस्कार

गलकोट, १ असोज । कोरोना महामारीका सन्दर्भमा नेपालमा पाँच महिना व्यवसाय ठप्प जस्तै भयो । गत चैतदेखि करिब पाँच महिना बन्दाबन्दी भएपछि व्यवसायीहरुको उठिबास नै लागेको छ । लामो समय व्यवसाय बन्द हुँदा व्यवसायीलाई घरभाडा तिर्न समस्या भएको छ ।

घरभाडा तिर्न नसकेर व्यवसाय बन्द गर्न थालेका व्यवसायीको राहतका लागि बागलुङ उद्योग वाणिज्य सङ्घले सक्रियता देखाएको छ । सङ्घले बन्दाबन्दी हुँदादेखि नै घरधनीहरुलाई भाडा छुट दिन आग्रह गर्दैसमेत आएको छ । हालसम्म बागलुङ बजारका झण्डै १५० घरधनीले घरभाडा छुटसमेत दिएका छन् । कोरोना भाइरसका कारण आफ्नै घरमा व्यवसाय गर्नेभन्दा भाडा तिरेर व्यवसाय सञ्चालन गर्नेलाई निकै समस्या सिर्जना भएको छ । सङ्घले घरभाडा छुट दिनेलाई प्रोत्साहन गर्न थालेको छ । सङ्घको आग्रह वा स्वतःस्र्फूत रूपमा घरभाडा छुट गरेका घरधनीहरुलाई सङ्घले प्रोत्सानस्वरुप सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको हो ।

घरभाडा छुट दिने घरभेटीलाई प्रोत्साहन र अन्य घरधनीलाई भाडा छुट दिन अभिप्रेरित गर्नका लागि घरधनीलाई पुरस्कार तथा सम्मान गर्ने कार्यक्रम अघि सारेको सङ्घका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिए । “कोरोना महामारीमा व्यवसायीलाई धेरै मार परेको छ, भाडामा व्यवसाय सञ्चालन गर्नेहरुले भाडा तिर्न नसकी व्यवसाय बन्द गर्दा त्यसको मार घरधनीलाई समेत हुने गर्दछ”, राजभण्डारीले भने । “धेरै घरधनीले एक महिनादेखि पाँच महिनासम्मको घरभाडा छुट गर्नुभएको छ, उहाँहरुलाई कदरस्वरुप उद्योग वाणिज्य सङ्घले सम्मान गर्नेछ ।”

राजभण्डारीका अनुसार घरभाडा छुट दिने घरधनीको लगत सङ्कलन भइरहेको र आगामी उद्योग वाणिज्य सङ्घको साधारणसभामा सम्मान गरिनेछ । उनले घरभाडा छुट दिने घरधनीहरु बढ्दै गएमा साधारणसभा अघिनै सम्मान गरिने बताए । मसङ्घका अनुसार हालसम्म बागलुङ बजारका करिब १५० घरधनीले आफ्नो घरमा सञ्चालित व्यवसायलाई घरभाडा छुट दिएको तथ्याङ्क छ ।

बागलुङका ठूला तथा साना व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुले घरभाडा तिर्न नसक्दा व्यवसाय नै धरापमा परेको गुनासो गर्दै आएका छन् । हालसम्म बागलुङ बजारका एक दर्जन व्यवसायीले भाडा तिर्न नसकेर व्यवसाय नै बन्द गरेका छन् । उद्योग वाणिज्य सङ्घले घरभाडा छुट दिने घरधनीको सङ्ख्याका आधारमा कस्तो पुरस्कार दिने भन्ने निर्णयमा पुगिने बताएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति