जग्गा कित्ताकाट खोल्ने निर्णय कार्यान्वन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, २९ भाद्र । सर्वोच्च अदालतले जग्गाको कित्ताकाट गर्न दिने सरकारको निर्णय हाललाई रोक्न आदेश दिएको छ । आज सर्वोच्च अदालतले कित्ताकाट खोल्ने भुमि व्यवस्थापन मन्त्रालयको निर्णय कार्यान्वन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतकी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलाशले अन्तरिम आदेश जारी गरी जग्गा कित्ताकाट खोल्ने निर्णय कार्यान्वन नगर्न अन्तरिम आदेश जारी गरेको हो । सन्तोष भण्डारीले दायर गरेको मुद्दामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले बहस गरेका थिए । मन्त्री अर्यालले भदौ १८ गते ‘कृषियोग्य जमिन कित्ताकाट’ गर्ने निर्णय गरेकी हुन ।

सर्वोच्चले खेती गरिनुपर्ने उर्वरा जग्गाको व्यापक विनाश हुने हुँदा हाललाई सो निणय कार्यान्वयन नगर्नु भनी आदेश जारी गरेको छ ।

यसअघि १८ भाद्रमा मन्त्रीस्तरीय निर्णयबाट सरकारले जग्गाको कित्ताकाट खुलाएको थियो । जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध फुकुवा गरी सम्बन्धित कार्यालयहरुलाई परिपत्र समेत जारी गरेको थियो । १८ भाद्रमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कित्ताकाट फुकुवा गर्ने मन्त्रिस्तरीय निर्णय गरेकी हुन् । त्यसपछि १९ भाद्रमा भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्र पठाउँदै यसअघि कृषियोग्य जग्गाको खण्डीकरणबारेको पूर्व निर्णयहरु बदर गरिएको पत्र पठाएको थियो ।

विभागहरुले जिल्ला र स्थानीय तहका कार्यालयहरुलाई परिपत्र जारी गरी कित्ताकाट खुलाइएको जानकारी दिएका थिए । यसअघि कृषियोग्य जमिनको खण्डीकरण रोक्न तत्कालिन भूमि व्यवस्थामन्त्री गोपाल दहितले २०७४ साउनमा कित्ताकाट रोक्ने निर्णय गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति