युवाले सहुलियत दरमा व्यवसायिक ऋण पाउने, यस्ता छन् मापदण्ड

काठमाडौं, २९ भदौ । युवालाई स्वदेशमै उद्यममा लगाउने उद्देश्यले सिन्धुलीको कमलामाई नगरपालिकाले ‘युवालाई सहुलियत व्यवसायिक ऋण कार्यक्रम’ ल्याएको छ ।

यो कर्जामा महिला ऋणीले १.८५ प्रतिशत र पुरुषले २.८५ प्रतिशत ब्याज अनुदान पाउँछन् । नगरपालिकाको सिफारिसका आधारमा राष्ट्रिय वाणिज्य बैंकले सो ऋण प्रवाह गर्ने छन् । सो ऋण सम्बन्धी सम्झौता पत्रमा नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री र राष्ट्रिय वाणिज्य बैंक, केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आइतबार हस्ताक्षर गरे ।

दक्षता, क्षमता र सीप भएर पनि आर्थिक अवस्था कमजोर भएका कारण बेरोजगार भएर बस्नु परेको युवालाई लक्षित गरी सरल व्यवसायिक ऋण कार्यक्रम ल्याएको नगरप्रमुख खत्रीले जानकारी दिए । उनले नगरपालिकाले १४ वटै वडाका युवाबाट आफूले गर्न चाहेकोे व्यवसायबारे आवेदन माग गर्ने र मागका आधारमा ऋण दिन उपयुक्त ठहर भएका युवालाई सरल ब्याजदरमा ऋण उपलब्ध गराउने बताए ।

नगरप्रमुख खत्रीका अनुसार यो कार्यक्रमअन्तर्गत नगरपालिकाकोे सिफारिसका आधारमा बैङ्कले ऋणीलाई रु पाँच लाखदेखि पाँच करोडसम्म ऋण उपलब्ध गराउने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति