मुलुकका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा : तटीय क्षेत्रमा सतर्क रहन आह्वान

काठमाडौँ, २८ भदौ । मनसुनको न्यून चापीय रेखाको प्रभावले मुलुकका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ ।
सिन्धुपाल्चोकको सिन्धुपाल्चोकको गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा भने ६ घण्टादेखि ठूलो वर्षा भएकाले सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ ।

बलेफी जलवीरेमा जलसतह सतर्कता तहमा पुगेको र बढ्दो रहेको छ भने भोटेकोशी, ईन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका साना नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले तटीय क्षेत्रमा १० बजे सम्म सतर्क रहन आग्रह गरिएको छ । बाह्रबिसे क्षेत्रमा भारी वर्षासँगैको पहिरोले जनधनको क्षतिसमेत भइसकेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पनि प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।भारी वर्षा हुने विभिन्न ५ प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

यस्तै आज कन्काई, कोशी, कमला, बागमती, पूर्वी राप्ती र केही स–साना नदी जलाधारमा बहाब केही बढ्ने र केहीमा आकस्मिक बहाब हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति