बालुवाटारमा नेकपा बैठक सुरु : १५ बुँदे प्रस्तावमाथि छलफल


काठमाडौं, २६ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । आन्तरिक विवादका कारण झण्डै डेढ महिना अघि स्थगित बैठक विवाद समाधानउन्मुख भएपछि शुक्रबार बसेको हो ।

बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धि १५ बुँदे प्रस्तावमाथि सामान्य छलफल गरेर पारित गर्ने तयारी छ । गत असार १० गतेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय चर्किएपछि साउन १३ पछि अनिश्चितकालका लागि स्थगित भएको थियो ।

यो विचमा पार्टी नै फुटाउने तहसम्म पुगेका नेताहरुबीच पटक पटकको सम्वाद र विवाद समाधान गर्न कार्यदल गठन गरेर विवादलाई समाधानतर्फ लगेपछि बैठक पुन बस्ने बातावरण बनेको हो ।

गत साउन ३० गते महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको ६ सदस्यीय कार्यदलले दिएको प्रतिवेदनका आधारमा अध्यक्ष ओली र प्रचण्डले बैठकका एजेण्डा तयार गरेका छन् ।

कार्यदललाई नै आधार बनाएर तयार एजेण्डामा दुई अध्यक्षको जिम्मेवारीबारे प्रस्ट पार्नेदेखि चैतमा महाधिवेसन गर्ने, निश्चित मापदण्डका आधारमा मन्त्रि तथा राजनीतिक नियुक्ति गर्ने, पार्टी एकताका बाँकी काम असोज महिनामा सक्ने,लगायतका विषय समेटिएका छन् ।

आजको बैठकमा नेता नेपालको प्रस्तुती कस्तो रहन्छ भन्नेमा नेकपाका नेताहरुले चासोका साथ लिएका छन् । किनभने ओलीको राजीनामा माग्दा प्रचण्ड र नेपाल एकातिर भएपनि अहिले ओली प्रचण्ड एकातिर र नेता नेपाल अर्कोतिर पुगिसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति