सन्तानको आरोग्य कामनासहित कठोर व्रत जितिया व्रत सम्पन्न

जनकपुरधाम, २६ भदौ  । मैथिल समुदायका आमाहरूको महान लोक पर्व जितिया पर्व आज सम्पन्न भएको छ । सो पर्व अन्तर्गत मैथिल आमाहरूले थुक पनि ननिलेर ३६ घण्टासम्म व्रत गरी पर्व सम्पन्न गरेका छन् । सप्तमी, अष्टमी र नवमी तिथिमा मनाइने यो पर्वमा सन्तानको आरोग्य कामनासहित कठोर व्रत गरिने चलन छ । विगतमा छोरा हुनेले मात्र व्रत वस्ने परम्परा रहेकामा आमाहरूले हाल सो परम्परा तोड्दै छोराछोरी दुवैको सुख, शान्ति र समृद्धिका लागि व्रत बस्ने गरेका छन् ।

‘जितिया पाबनि बड भारी’ (जितिया पर्व धेरै ठूलो छ) भन्ने कथन अनुरूप व्रती आमाहरूले निराहार उपवास बसी व्रतलाई खण्डित हुन नदिने सङ्कल्प गरेका हुन्छन् । व्रती सोनादेवी भन्छिन , “जिमुतवाहनको कामनामा धेरै शक्ति छ, यसको नियमपूर्वक पूजा गर्नाले सन्तानको आयु वृद्धि हुनेगरेको विश्वाससहित ३६ घण्टाको व्रत निर्विघ्नतापूर्वक सम्पन्न गरेकी छु ।”

जितिया पर्व मैथिल संस्कृतिको एउटा मुख्य पर्व हो । यसलाई जिमुतवाहन व्रत पनि भनिन्छ । विशेषरूपले आइतबार र मङ्गलबार पर्ने जितियालाई अधिक महत्व दिइन्छ । यस अन्तर्गत यस व्रतको सप्तमी तिथिमा व्रतीले नहाय खाय, तेलखरि र पितराइन, रातिको अन्तिम प्रहरमा ओठगन गर्ने चलन छ ।

अष्टमी तिथिका दिन व्रतीले नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान् सूर्यलाई अघ्र्य अर्पण गर्छन् । त्यसपछि व्रतको सङ्कल्प गरिन्छ र घरमा आएर डाली भर्ने गरिन्छ । डालीमा नरिवल, काँक्रो, स्याउ, केरालगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ । मध्याह्नतिर टोलभरिका आमा एक ठाउँमा भेला भई जिमुतवाहन व्रतको महत्व, पर्वको शुभारम्भ र जिमुतवाहन देवताको बारेमा कथा सुन्ने गरिन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board