काठमाडौं, २४ भदौ । बेलायतको आष्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकाश गरेको कोरोनाबिरुद्धको भ्याक्सिनको तेश्रो चरणको क्लीनिकल परीक्षण जारी रहँदा सहभागीहरुमा गम्भीर प्रकारको नकारात्मक असर परेको आशंकामा अमेरिकामा उक्त भ्याक्सिनको परीक्षण स्थगित गरिएको छ । आष्ट्राजेनेकाका प्रवक्ताले सुरक्षा तथ्यांकको पुनरावलोकनका लागि तेश्रो चरणको क्लीनिकल परीक्षण स्थगित गरिएको वक्तब्यमार्फत पुष्टी गरेका छन् ।
अर्को वक्तब्यमा आष्ट्रजेनेकाले कोरोनाबिरुद्धको भ्याक्सिनको अध्ययन स्थगित गरिएको बताएको छ । भ्याक्सिनको परीक्षण गरिएको को व्यक्तिमा कस्तो खालको नकारात्मक असर देखिएको हो भन्नेबारे केही खुलाइएको छैन । तर ती सहभागी निको हुने अपेक्षा गरिएको जनाइएको छ ।
परीक्षण गरिएका व्यक्ति अप्रत्सायित रुपमा बिरामी भएको खण्डमा त्यसको पुनरावलोकन गर्नु नियमित प्रकृयाजस्तै भएको र एकजना व्यक्तिका कारण परीक्षणमा असर पर्न नदिन पुनरावलोकन प्रकृया तीब्र पारिएको प्रवक्ताले बताएका छन् । क्लीनिकल परीक्षणको स्थगन असामान्य नभएपनि कहिलेसम्म स्थगन हुने भन्नेबारे केही बताइएको छैन ।
अहिले विश्वभर कोरोनाबिरुद्धका ९ वटा भ्याक्सिनहरु तेश्रो चरणको क्लीनिकल परीक्षणका क्रममा रहेका छन् । क्लीनिकल परीक्षण स्थगन गरिएको भने आष्ट्राजेनेका नै पहिलो हो । अमेरिकामा फाइजर र मोडेर्नाका क्लीनिकल परीक्षण जुलाईको अन्तिम सातादेखि संचालन गरिएको छ ।
आष्ट्राजेनेकाले केहीदिन अगाडिमात्र अमेरिकामा क्लीनिकल परीक्षण सुरु गरेको थियो । अमेरिकाका ६२ वटा साइटहरुमा क्लीनिकल परीक्षण तय भएको थियो । कतिपय साइटमा भने क्लीनिकल परीक्षण सुरु गरिसकिएको थिएन । संदिग्ध गम्भीर असरमा अस्पताल भर्ना हुनुपर्ने अवस्था, ज्यानै जोखिममा पर्ने बिरामीपन र मृत्यु समेतलाई लिइन्छ । तर कुन क्लीनिकल परीक्षण गरिएका व्यक्तिमा गम्भीर प्रकारको नकारात्मक असर देखिएको हो भन्नेबारे पनि केही बताइएको छैन ।
COMMENTS