काठमाडौँ — कोरोना महामारीबाट पाठ सिकेर अर्को महामारीका लागि तयारी अवस्थामा रहनुपर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका छन् ।
उनले कोरोना नै अन्तिम महामारी नहुने उल्लेख गर्दै भविष्यका लागि विश्व तयार रहनुपर्ने पनि बताए । डब्लूएचओको मुख्यालय जेनेभामा सोमबार भएको भर्चुअल मिडिया ब्रिफिङका क्रममा महानिर्देशक डाक्टर टेड्रोसले अब विश्वका सबै देशले जनस्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।
स्वास्थ्य भनेको विलासिताको बस्तु होइन । यो आवश्यकताको कुरा हो र यो एउटा मानव अधिकार रहेको उनले बताए । महानिर्देशक डाक्टर टेड्रोसले जनस्वास्थ्य सामाजिक, आर्थिक र राजनीतिक स्थायित्वको आधार स्तम्भ भएको उनले भनाई छ ।
अब अर्को महामारीका लागि पहिलेभन्दा बढी तयार हुनुपर्ने र केही देशले मेडिसिनका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको बताउँदै महानिर्देशक टेड्रोसले धेरै देशले भने आधारभूत जनस्वास्थ्यका क्षेत्रमा पनि हेलचेक्य्राइँ गरेको बताएका छन् ।
उनले कोरोना नियन्त्रण तथा रोकथाममा कम्बोडिया, जापान, न्युजिल्यान्ड, दक्षिण कोरिया, रुवान्डा, सेनेगल, स्पेन, भियतनामलगायतका देशले प्रभावकारी कदम चालेको बताए । महामारी नियन्त्रणका विषयमा जर्मनीबाट पनि धेरै कुरा सिक्न सकिने उनले बताए ।
COMMENTS