काठमाडौँ, २२ भदौ । अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन राष्ट्रिय शिक्षा दिवस मनाइँदै आइएकामा यस वर्षदेखि राष्ट्रिय दिवस अलग्गै मितिमा मनाउने गरी नयाँ कार्यविधि पारित भएको छ ।
राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थी, विद्यालय, शिक्षक, कर्मचारी र संस्थालाई पुरस्कृत गर्ने र राष्ट्रियस्तरमा कार्यक्रमहरु आयोजना गरिने हुँदा यसलाई अन्तर्राष्ट्रिय दिवसभन्दा बेग्लै मनाउन लागिएको हो ।
‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्या पदक र राष्ट्रिय शिक्षा पुरस्कार सम्बन्धी निर्देशिका २०७७’ मा पुरस्कारका लागि शिक्षा मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रारम्भिक छानविन समिति र शिक्षासचिवको संयोजकत्वमा सिफारिस समिति गठनको व्यवस्था गरिएको छ । यस्तै उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कारका लागि विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा सिफारिस समिति गठन हुनेछ ।
विसं. २०६२ सम्म हरेक फागुन १२ गते राष्ट्रिय शिक्षा दिवस मनाएकामा लोकतान्त्रिक जनआन्दोलनका कारण विसं. २०६३ मा राष्ट्रिय शिक्षा दिवस स्थगन भएपछि २०६४ सालदेखि अन्तर्राष्ट्रिय दिवसका दिन ८ सेप्टेम्बर सँगै मनाउन थालिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार राष्ट्रिय दिवस बेग्लै मितिमा आयोजना गर्ने गरी मन्त्रिपरिषद्बाट कार्यविधि पारित भएको र नयाँ मितिबारे विभिन्न विकल्पमा छलफल भइरहेको छ ।
‘शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालीकाले बञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्य नाराका साथ विसं. २०३१ सालबाट मनाउन थालिएको थियो । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोको आव्हानमा मङ्गलबार ‘लिटेरेसी टिचिङ एण्ड लर्निङ इन दि कोभिड १९ ः क्राइसिस एण्ड बिओण्ड’ भन्ने नाराका साथ विश्वभर मनाइँदैछ । युनेस्कोले रु २० हजार अमेरिकी डलरको यसवर्षको अन्तर्राष्ट्रिय पुरस्कार नेपालको सामाजिक संस्था ‘एजिङ नेपाल’ लाई प्रदान गर्दैछ । नेपालमा अन्तर्राष्ट्रिय दिवसका दिन सरकारी, युनेस्कोका संयन्त्र, सामुदायिक सिकाइ केन्द्र र गैह्रसरकारी क्षेत्रबाट भर्चुअलरुपमा विभिन्न कार्यक्रम आयोजना हुनेछन् भने शिक्षा तथा मानव संशाधन केन्द्रले स्मारिका प्रकाशन गर्नेछ ।
COMMENTS