कांग्रेसको आन्तरिक विवाद चुलियो, देउवापक्ष र पौडेलपक्षबीच आरोप-प्रत्यारोप

काठमाडौं, २२ भदौ । पार्टीको १४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चुलिँदै गएको छ । सभापति शेरबहादुर देउवाले आफुखुसी पार्टीका विभाग विस्तार गरिरहेको भन्दै इतर पक्षले असन्तुष्टि जनाउँदै आएका छन ।

महाधिवेशनलाई प्रभावित गर्नेगरी सभापति देउवाले विभाग गठन गरिरहेको उनीहरुको आरोप छ । रामचन्द्र पौडेल र सिटौला पक्षका नेताहरुले सभापतिले आफ्ना निर्णय नसच्याए धर्ना दिनेदेखि लिएर आमरण अनसन बस्ने सम्मको चेतावनी दिएका छन । यता देउवा पक्षका नेताहरुले भने विभाग गठन र शुभेच्छुक संस्थाहरुलाई पूर्णता दिने निर्णय स्वभाविक भएको दाबी गरेका छन ।

नेता मिन विश्वकर्माले सभापति देउवाले गरेका निर्णयको बचाउ गरे । उनले विधान अनुसार ६ महिनाभित्र नै पार्टीका विभाग लगायत सबैअंगहरुलाई विस्तार गर्ने प्रयास गरेपनि सहमति जुट्न नसकेको बताए ।

सभापतिले सर्वसम्मत निर्णय गरौ भनेर दबाव दिएपनि पौडेल पक्ष सहमतिमा आउन नचाहेको नेता विश्वकर्माले बताए । कांग्रेसका महामन्त्री शशांक कोइरालाले सभापतिले विधान विपरित गरेका कामको विरोध गर्दा पनि आफ्ना कुरा नसुन्ने गरेको आरोप लगाए । पार्टीभित्र सभापतिले मनोमानी गरिरहेको उनको भनाई छ । सभापतिको निर्णय क्षमतामाथि नै प्रश्न उठ्ने गरी विभाग विस्तार गर्ने काम भएको उनले बताए ।

सभापति देउवा विधानविपरीत अगाडि बढेको निष्कर्ष निकाल्दै पौडेल समूहले चरणवद्ध आन्दोलनको तयारी गरेको छ । विधानविपरीत भनिएका पछिल्ला निर्णयहरु फिर्ताका लागि सभापति देउवालाई दबाब दिन मौखिक र लिखित रुपमा ध्यानाकर्षणपत्र बुझाउनेदेखि आमरण अनशन बस्नेसम्मका दबाबमुलक कार्यक्रम गर्ने तयारी पौडेल समूहको छ । कांग्रेसको विधानतः ४ वर्षको कार्यकाल सकिएपछि तदर्थ समितिमा रुपान्तरण भएपछि सभापति देउवाले संगठन विस्तार गरेका हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board