नेपालमा एकैदिन १,३५९ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

काठमाडौं, १९ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १,३५९ जनामा कोरोना भाईरस (कोभिड- १९) संक्रमण पुष्टि भएको छ । आज सर्वाधिक सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४४,२३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार अहिलेसम्म २५,५६१ सङ्क्रमित निको भाई घर फर्किईसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र १३५४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरमा १८ हजार ४०४ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ९४२ जना संस्थागत र बाँकी होम आइसोलेसनमा छन् । अहिले देशभरि क्वारन्टीनमा ६,५६१ जना छन्।

थप १४ जनाको मृत्यु
कोरोना भाईरसका संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । त्यस्तै, हालसम्म २७१ जनाको मृत्यु भएको सरकारको तथ्याङ्कले देखाएको छ । मृतकमध्ये एक चिनियाँ र एक भारतीय नागरिक पनि छिन्।

शुक्रवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले देशभरि १८,४०४ सक्रिय सङ्क्रमित भएको बताए।

उपत्यकामा थप ४५४ जनामा संक्रमण
काठमाडौं उपत्यकमा पछिल्लो २४ घण्टामा थप ४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसअघि बिहीबार उपत्यकामा ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति