रुपन्देहीमा थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु

रुपन्देही, १९ भदौ । रुपन्देहीमा कोरोना सङ्क्रमणका कारण आज तीन जनाको मृत्यु भएको छ । दुई जना सिद्धार्थनगर र एक जना बुटवलका सङ्क्रमितको मृत्यु भएको हो ।

होम आइसोलेशनमा रहेका सिद्धार्थनगर नगरपालिका –८ का ४५ वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए । मिर्गौलाले काम नगरेपछि चितवनमा डायलायसिस गरेर फर्किएका उनको बिहान मृत्यु भएको बताइएको छ ।

यस्तै बुटवल उपमहानगरपालिका– १० रामनगरस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत सिद्धार्थनगर – ७ की ६४ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । यही भदौ ४ गते अस्पतालमा भर्ना भएकी महिलामा उच्च रक्तचाप, मधुमेह, मिर्गौला र निमोनियाको समस्या रहेको र कोरोनाको आशङ्कामा स्वाब परीक्षण गर्दा भदौ १६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उनको स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखी उपचार भइरहेकामा बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसअघि बिहान बुटवल उपमहानगरपालिका – ८ का ७८ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा मृत्यु भएको थियो । यससँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति