राहत, उद्धारका लागि परिचालित हुन कार्यकर्तालाई नेकपाको निर्देशन

काठमाडौँ, १८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बाढीपहिराका कारण समस्यामा परेका नागरिकको राहत, उद्धार र पुनः स्थापनाका लागि पार्टीका नेता तथा कार्यकर्तालाई परिचालित हुन निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले बुधबार बाग्लुङको ढोरपाटनमा गएको पहिरामा परी जनधनको क्षति भएकामा दुःख व्यक्त गर्दै राहत, उद्धार तथा पुनः स्थापनाका लागि पार्टीका नेता तथा कार्यकर्तालाई परिचालित हुन निर्देशन दिएको हो ।

ढोरपाटनको बाढीमा परेर १४ जनाको निधन भएको छ भने करीब ३५ जना सम्पर्कविहीन भएका छन् । यस्तै केही स्थानीयवासी घाइते भएका छन् । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो “बाग्लुडको ढोरपाटनमा बाढीबाट हुन गएको क्षतिप्रति सचिवालय बैठकले दुःख प्रकटका साथ मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सरकारलाई राहत, उद्धारका लागि तीव्रताका साथ लाग्न आग्रह गरेको छ । यस्तै पार्टीका सबै कमिटीलाई उद्धार र राहतको काममा लाग्न निर्देशित गरेको छ ।”

बैठकमा कोभिड –१९ को निराकरणका सन्दर्भमा सरकारका तर्फबाट भएका कामकारवाहीका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिनुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । बैठकले सामाजिक सद्भाव सहिष्णुता कायम राख्दै सिंगो राष्ट्र एक जुट भएर विपद्का समयमा उद्धार, राहत, पुनःस्थापनाका लाग्न सबैलाई अपिल गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले पार्टीभित्र पछिल्ला दिनमा देखिएको विवाद समाधानका लागि महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनमाथि संक्षिप्त छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

कार्यदलबाट प्रस्तुत प्रतिवेदनका महत्वपूर्ण सुझावलाई आधार बनाउँदै आजको सचिवालय बैठकमा व्यक्त विचारलाई समेत ध्यान दिई अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आवश्यक कार्यसूची तयार पार्न बैठकले जिम्मा दिएको छ ।

यस्तै स्थगित स्थायी कमिटीको बैठक छिट्टै बोलाउने र पार्टीको नयाँ ठोस कार्ययोजनासहितको निर्णय प्रस्तावलाई अन्तिम मस्यौदा तयार पार्नसमेत अध्यक्षद्वयलाई जिम्मेवारी दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय
त्यस्तै, नेकपाले राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा सरकारका तर्फबाट उपाध्यक्ष गौतमलाई सिफारिश गर्ने जानकारी गराएका थिए ।

बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभाका एक रिक्त सदस्यका लागि पार्टीको निर्णयानुसार नै सरकारका तर्फबाट उपाध्यक्ष गौतमलाई सिफारिश गर्ने निर्णय भएको जानकारी दिए । सरकारका तर्फबाट गरिएको सिफारिशका आधारमा राष्ट्रियसभा सदस्य राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ । यसअघि अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई समेत सरकारको सिफारिशमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिले नियुक्त गरेका थिए ।

संवैधानिक प्रावधानअनुसार राष्ट्रियसभामा सरकारको सिफारिशमा राष्ट्रपतिले तीन सदस्य नियुक्त गर्ने प्रावधान छ । यसअघि सिफारिशसहित नियुक्त हुनुभएका राष्ट्रियसभा सदस्यमा डा खतिवडा, रामनारायण बिडारी र विमला पौडेल हुनुहुन्छ । तीमध्ये डा खतिवडाको दुईवर्षे कार्यकाल गत फागुनमा नै सकिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति