काँग्रेसका नेताहरुलाई भाजपामा प्रवेश गर्न केन्द्रीय मन्त्रीको सुझाव 

नयाँदिल्ली, १७ भदौ । भारतीय राष्ट्रिय काँग्रेसका नेताहरुलाई पार्टी परित्याग गरेर सत्तारुढ भारतीय जनता पार्टीमा आउन केन्द्रीय एक मन्त्रीले सुझाव दिएका छन् । काँग्रेस पार्टीमा उनीहरुको भविष्य नभएको भन्दै केन्द्रीय मन्त्री रामदास अथावालेले यस्तो सुझाव दिए । काँग्रेसका बरिष्ठ नेताहरु गुलाम नबी आजाद र कपिल सिबलले सो पार्टीबाट राजीनामा दिनु उपयुक्त हुने उनको भनाई छ ।

सत्तारुढ गठबन्धन फेरि पनि शक्ति र सत्तामा फर्किने भएकाले धेरै उमेर पुगेका बरिष्ठ नेताहरु काँग्रेसमै रहिरहँदा कुनै अवसर नपाउने उनले तर्क गरे ।यसअघि भएको संसदीय निर्वाचनमा भारतीय राष्ट्रिय काँग्रेस पार्टीलाई सबैभन्दा ठूलो दल बनाउन नसकेपछि नैतिकताका आधारमा जिम्मेवारी लिँदै तत्कालीन अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएपछि काँग्रेसमा विवाद बढेको छ ।विशेष गरेर कतिपय नेताहरुले राहुललाई नै अध्यक्ष बनाउनु पर्ने अडान र कतिपय नेताहरुले गान्धीको विकल्प खोज्नु पर्ने अडान राखेकाले पार्टीमा नयाँ अध्यक्ष चयन हुन सकेको छैन ।

नयाँ अध्यक्ष चयन नहुँदासम्म पार्टीले पूर्व अध्यक्ष सोनिया गान्धीलाई नै अन्तरिम अध्यक्षको जिम्मेवारी दिएको छ । तर केही समयका लागि त्यो जिम्मेवारी दिएपनि लामो समयसम्म नयाँ अध्यक्ष चयन नभएको भन्दै पार्टीमा विवाद फेरि बढेको हो ।पार्टीलाई पूर्णकालीन र देखिने नेतृत्वको आवश्यकता रहेकाले तत्काल त्यसको व्यवस्था गर्न माग गर्दै आजाद सहितका २० जना नेताले केही हप्ता अगाडि अन्तरिम अध्यक्ष गान्धीलाई ज्ञापनपत्र समेत बुझाएका थिए । त्यसको लगत्तै अध्यक्ष चयन गर्न भन्दै केन्द्रीय समितिको बैठक बोलाइए पनि कुनै निर्णय विना बैठक अन्त्य भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति