रोल्पामा भने कोरोना संक्रमित शून्य

रोल्पा, १७ भदौ । रोल्पा जिल्लामा कोरोना सङ्क्रमित शून्य भएको छ । देशैभर कोरना सङ्क्रमित समुदायस्तरमै बढिरहेको बेला रोल्पामा भने कोरोनाको सक्रिय सङ्क्रमित सङ्ख्या शून्यमा झरेको छ । पछिल्लोपटक अस्थायी आइसोलेशन केन्द्रमा बस्दै आएका तीन जना घर फिर्ता भएसँगै जिल्लामा सक्रिय सङ्क्रमित सङ्ख्या शून्य भएको हो ।

जिल्लामा हालसम्म देखापरेका सङ्क्रमित ८३ जनामध्ये ७८ जना कोरोना जितेर आइसोलेशनबाट फिर्ता भइसकेका छन् । सङ्क्रमितमध्येका अन्य पाँच जना सङ्क्रमित भने अन्य जिल्लाका रहेकाले हाल जिल्ला जनस्वास्थ्यको सम्पर्कमै नरहेको जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाका प्रमुख अनिल केसी बताउँछन् । उनीहरुको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिए पनि अझैसम्म जिल्लाको आइसोलेशनमा आइनपुगेकाले जिल्लाको कोरोनाको सक्रिय सङ्क्रमित सङ्ख्या शून्य देखिएको हो । क्वारेन्टिनमा बसेका बखत आत्महत्या गरेका एक जनाको रिपोर्ट पोजेटिभ देखिएका कारण जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक जना देखिएको छ ।

जिल्ला कोरोनामुक्त भन्न मिल्दैन, जिल्लाको क्षेत्रभित्र कोरोना पोजेटिभ नभए पनि जिल्ला बाहिर रहेका रोल्पाली कोरोना सङ्क्रमित हुनसक्ने भएकाले कोरोनामुक्त नभई कोरोना शून्य भएको अवस्था हो प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले भने । “स्वाब परीक्षणका लागि केही नमूना पठाइएको हुँदा त्यसको पोजेटिभ रिपोर्ट आउनसक्ने सम्भावनालाई नकार्न सकिँदैन”, प्रजिअ रानाले भने ।

कोरोना सक्रिय सङ्क्रमितका लागि जिल्लामा ७८ श्ययाको आइसोलेशन केन्द्र स्थापना गरी सेवा प्रवाह भइरहेको छ । जलजला बहुमुखी क्याम्पसमा रहेको सो आइसोलेशन सञ्चालनका लागि जिल्लाका दशवटै स्थानीय तह र प्रदेश सरकारका साथै सर्वसाधारणले समेत आर्थिक भौतिक सहयोग गरेका थिए । जिल्ला कोराना शून्य रहे पनि सरकारको निर्देशन नहुँदासम्म आइसोलेशन केन्द्र कायमै रहने स्थानीय प्रशासनको भनाइ छ ।

भारत तथा अन्य मुलुकका साथै देशको विभिन्न जिल्लाबाटसमेत रोल्पा आवतजावत भइरहेको हुँदा जुनसुकै बेला कोरोना सङ्क्रमित देखिन सक्छन् । गत जेठ १ गतेदेखि हालसम्म भारतबाट दुई हजार ३७९ जना र तेस्रो मुलुकबाट २६१ जना रोल्पा भित्रिएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जानकारी दिएको छ । यसरी भित्रनेमध्ये सबैभन्दा धेरै सुनिल स्मृति गाउँपालिकामा ७४७ जना भारतबाट र पाँच जना तेस्रो मुलुकबाट रहेका छन् भने सबभन्दा कम थवाड गाउँपालिकामा भारतबाट २० र तेस्रो मुलुकबाट २४ जना रहेका छन् । जिल्लामा हालसम्म दुई हजार ४८१ जनाको स्वाब सङ्कलन गरिएकामा दुई हजार ४०८ जनाको स्वाब परीक्षण गरिएको छ । हाल जिल्लाका विभिन्न स्थानमा ९७ श्ययासहितको २२ स्थानमा क्वारेन्टिन रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board