के अमेरिकालाई चीनको उदय रोक्ने अधिकार छ ?

ग्लोबल टाइम्स – वासिंटनमा चीनको उदय रोक्न ढिलो त भएन भन्ने प्रश्नमा बहस चलिरहँदा चिनियाँ नीति निर्मातामाझ अलग प्रश्न उठ्न थालेको छ – के अमेरिकालाई चीनको उदय रोक्ने अधिकार छ ? वासिंटनले चीनविरुद्ध कैयौँ पक्षमा आक्रमण बढाइरहेको छ । जनवरी २०१७ मा राष्ट्रपति डोनाल्ड ट्रम्पको उदयपछि चीनमाथिको आक्रमणमा वृद्धि भएको छ । ट्रम्पले राष्ट्रिय सुरक्षा र चीनको आर्थिक तथा सैन्य विस्तार रोक्ने भन्दै विभिन्न अवरोध खडा गरिरहेका छन् ।

अमेरिकाको चीनलक्षित आर्थिक प्रतिबन्ध, प्राविधिक कडाइ र सैन्य धम्कीहरू चीनको विकासमा अवरोध गर्ने र अमेरिकाको प्रभुत्वशाली स्थिति सुरक्षित गर्नमा केन्द्रित देखिन्छ । चीनको उदयबाट झस्किएको पश्चिमी विश्वमा अहिले एउटा प्रश्न निकै जोडतोडका साथ उठ्ने गर्छ – चीनको उदयलाई रोक्न ढिलो त भएन ?

‘वासिंटनको चीनविरुद्धका कदमले चीनभित्र अस्थिरता मच्चिनुको साटो चिनियाँ समाजमा एकता बढेको छ । चीनमा अधिकांश नागरिक अमेरिकी हेपाहापनविरुद्ध एक भएर सामना गर्नुपर्ने मनस्थितिमा देखिन्छन् । चिनियाँ विकासको जग फरक छ – चीनको विकास चिनियाँ जनताको कडा मिहिनेत र सहकार्यबाट सम्भव भएको हो । चीनले यही वर्षको अन्त्यसम्म चरम गरिबीलाई उन्मूलन गर्ने लक्ष्य लिएको छ ।’

अघिल्ला दशक चीनले हासिल गरेको तीव्र विकासले अमेरिकालाई अत्याएको छ । एक अलग राजनीतिक प्रणाली र विशाल जनसंख्या भएको राष्ट्र चीनले अमेरिकाकै हाराहारीमा अर्थतन्त्र पुर्‍याउन लागेको छ । आर्थिक तथा राजनीतिक रूपमा अमेरिकी एलिटहरूका लागि यो अभूतपूर्व चुनौती हो । यसैले अहिले वासिंटनका हार्डलाइनरहरू चीनको विकासलाई जतिसक्दो अवरोध पुर्‍याउने कोसिस गरिरहेका छन् ।

चीनले विगतदेखि नै आफ्नो शान्तिपूर्ण विकासले सबैको हित हुने कुरामा जोड दिँदै आएको छ । आजका धेरै सम्पन्न पश्चिमी मुलुकको समृद्धिको जग त्यति सकारात्मक छैन । युरोपेली मुलुकले विगतमा उपनिवेश खडा गरेर अधीनस्थ मुलुकका स्रोतमाथि लुट मच्चाएका थिए । तिनको पूर्वाधार निर्माणमा यो लुटेको स्रोत महत्वपूर्ण साबित भयो । तर, चिनियाँ विकासको जग फरक छ– चीनको विकास चिनियाँ जनताको कडा मिहिनेत र सहकार्यबाट सम्भव भएको हो । विगत तीन दशक चीन कुनै युद्धमा सहभागी भएन । चीन शान्तिपूर्ण विकासमा प्रतिबद्ध देखिन्छ । उसले विश्व प्रभुत्व स्थापना गर्ने उद्देश्य पनि राखेको छैन ।

अर्थतन्त्रको आकारका आधारमा चीन विश्वको दोस्रो अर्थतन्त्र भए पनि प्रतिव्यक्ति आयका हिसाबमा चीन अझै ६५औँ स्थानमा छ । मरिससजस्ता देश पनि चीनभन्दा अघि छन् । चीनले यही वर्षको अन्त्यसम्म चरम गरिबीलाई उन्मूलन गर्ने लक्ष्य लिएको छ । ठूला सहरका चमकधमकका बाबजुद चीनको केन्द्र तथा प्रदेश सरकारका लागि आर्थिक विकास गम्भीर चुनौती रहेको छ । दशकौँअघि चीन गरिब रहँदा र चिनियाँ नागरिक भोकमरीले ग्रसित हुँदा पश्चिमा मुलुकले चीनलाई अस्थिरताको कारक हुन सक्ने बताउँथे । चीनबाट अस्थिरता बाहिर निर्यात हुने खतरा रहेको चेतावनी दिन्थे । बिस्तारै चीन आफ्नो विशाल जनसंख्याको विकराल समस्या समाधान गरेर आजको स्थितिमा आइपुग्यो । आज पश्चिमा मुलुक चीनको थप विकासमा अवरोध पुर्‍याउन चाहिरहेका छन् । अहिलेको पश्चिमी मानसिकता हेर्दा ती आफूसँग मात्र खुसी जीवनको हक रहेको मान्छन् जस्तो देखिन्छ ।

चीनको विकासमा अवरोध गर्ने कुरा आउँदा अर्को प्रश्न उठ्छ, के चीनको विकास रोक्न सम्भव छ ? दुई वर्षअघि ट्रम्प प्रशासनले चीनविरुद्ध व्यापार युद्ध सुरु गर्‍यो । त्यसवेला अमेरिकाले चीनमाथि अमेरिकासँग असमान व्यापार व्यवहार गरेको आरोप लगाएको थियो । यी दुई वर्षसम्मको अमेरिकी प्रयासका बाबजुद चीनको विकासमा खासै असर परेन । यसबाट अमेरिकी एलिटहरूको चिनियाँ विकास रोक्ने प्रयास अव्यावहारिक रहेको देखियो । अमेरिकी अर्थतन्त्र र चिनियाँ अर्थतन्त्रलाई अलग गर्ने प्रयासमा पनि अवरोध देखियो । यसको मूल कारण चीनसँगको व्यापारिक सम्बन्ध चीनका लागि लाभप्रद देखियो । वासिंटनले आफ्ना मित्रशक्तिलाई जोडेर चीनविरुद्ध मोर्चाबन्दी निर्माण गर्ने प्रयास पनि गर्यो यो प्रयास पनि असफल भएको छ ।

वासिंटनको चीनविरुद्धका कदमले चीनभित्र अस्थिरता मच्चिनुको साटो चिनियाँ समाजमा एकता बढेको छ । चीनमा अधिकांश नागरिक अमेरिकी हेपाहापनविरुद्ध एक भएर सामना गर्नुपर्ने मनस्थितिमा देखिन्छन् । अमेरिका र पश्चिमा राष्ट्रले चीनको विकास रोक्न ढिलो भयो कि भनेर ध्यान दिनुभन्दा तिनले आजको विश्वमा अप्रासंगिक हुँदै गएको आफ्नो विकास मोडलमा ध्यान दिन जरुरी छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board